बिहीबार, चैत १५, २०८०
16:18 | २२:०३

विश्वकप फाइनल आज, फ्रान्सेली राष्ट्रपति कतारमा, अर्जेन्टिनाका नजाने

रासस-सिन्ह्वा डिसेम्बर १८, २०२२

ब्यूनर्स आयर्स, अर्जेन्टिना–फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों आज हुने फिफा विश्वकपको फाइनल खेलमा खेलाडी र शुभचिन्तकलाई हौसला दिन कतार जाने भएका छन् ।

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्न कतार नजाने बताएका छन् । आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ ।

‘लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरु स्ट्यान्डमा हुनेछन्,’- फर्नान्डिजले ट्वीटरमा लेखेका छन् ।

रिपोर्टका अनुसार डिफेन्डिङ च्याम्पियन फ्रान्सका केही खेलाडी कोरोना भाइरसबाट प्रभावित भएका छन्, जसका कारण टोलीका प्रारम्भिक ‘सेन्टर ब्याक’ जोडीले आइतबार अर्जेन्टिनाविरुद्धको विश्वकप फाइनल खेल्न पाउने छैनन् ।

इएसपीएनका अनुसार राफेल भारानमा कोरोना भाइरसको हल्का लक्षण देखिएको छ भने डिफेन्डर इब्राहिमा कोनाटे बिरामी भएपछि कोठाबाट बाहिर निस्किएका छैनन् ।

वाराने र कोनाटेसहित पाँच फ्रान्सेली खेलाडीले अर्जेन्टिनाविरुद्ध विश्वकप फाइनलको दुई दिनअघि भएको प्रशिक्षणमा सहभागी हुन सकेका थिएनन् । डेयोट उपमेकानो, एड्रिएन राबिओट र किङ्स्ले कोमान हप्ताको सुरुमा बिरामी परेपछि शुक्रबारको अभ्यास गर्न सकेका थिएनन् ।

विश्वकपमा क्रोएसिया तेस्रो

फिफा विश्वकप फूटबल २०२२ मा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ ।

कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।

क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए ।

खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गोल गर्दै फेरि अग्रता दिलाए । जुन गोल नै क्रोएसियाको जितका लागि निर्णयक बन्यो । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । हारसँगै मोरक्को विश्वकपको चौथो स्थानमा रह्यो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू