शुक्रबार, वैशाख १४, २०८१
03:26 | ०८:११

मोरक्को र ब्राजिल क्वार्टरफाइनलमा

रासस डिसेम्बर ६, २०२२

ब्राजिलका खेलाडी खेल शुरु हुनु अघि राष्ट्रिय गान गाउँदै । तस्बिर- एएफपी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा आज भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । 

खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । 

त्यस्तै मोरक्कोका बदर बनोउनेले भने गोल गर्न सकेनन् । स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो भने कार्लोस सोलेर र सर्जियो बुस्केट्सको प्रहारलाई मोरक्कोका गोल रक्षक यासिन बोनोले बिफल बनाएका थिए । 

अब मोरक्काले अन्तिम आठमा पोर्चुगल र सर्वियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र सर्वियाबीचको खेल आज राति १२:४५ बजे हुनेछ ।

ब्राजिल पनि क्वाटरफाइनलमा

ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ । 

कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो । 

ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । 

त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो ।  

खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४-१ गोलअन्तरले आफ्नो पक्षमा पारयो ।

यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू