शुक्रबार, वैशाख ७, २०८१
21:16 | ०२:०१

भूतपूर्व गोर्खाहरुको २८ दिन विदा समयावधि बढाउन बेलायतलाई ज्ञापन

नेपाली लिङ्क नोभेम्बर २७, २०२२

लन्डन । ‘पेन्सन क्रेडिट’ पाइरहेका भूतपूर्व गोर्खाहरुलाई २८ दिन भन्दा बढी समय बेलायत बाहिर बिताउन नपाउने व्यवस्था परिवर्तनका लागि एनआरएनए यूकेले अनुरोध गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शुक्रबार दिउसो युरोप हेर्ने राज्यमन्त्री तथा नेपाली समुदायसंग निकट रहेका पूर्व रक्षाराज्यमन्त्री लियो डोकर्टीमार्फत ज्ञापन बुझाउंदै विदा समयावधि ९० दिन बढाउन बेलायत सरकारसमक्ष आग्रह गरेका हुन् ।

दिउसो २ बजे अल्डरसटस्थित डोकर्टीको अफिस (योर भ्वाइस इन वेष्टमिनिस्टर) मा ज्ञापन बुझाइएको हो ।

तीन पेज लामो ज्ञापनमा भूतपूर्व गोर्खाहरुलाई २८ दिनमात्र विदा पर्याप्त नभएको उल्लेख गर्दै गोर्खा स्टाटस कमनवेल्थ देश जस्तो नभइ फरक भएकाले यस नियममा पुनर्विचारका लागि आग्रह गरिएको छ ।

भूतपूर्व गोर्खाहरु विदामा नेपाल जांदा उनीहरुको बसाइ दुर्गम भौगोलिक विकट ठाउंमा रहेका कारण २८ दिनको समयभित्र पारिवारिक भेटघाट अनि अन्य प्रशासनिक काम गर्न पर्याप्त समय नहुने ज्ञापनमा छ ।

बेलायतले तीस वर्ष मुनीका गोर्खा वयस्क सन्तानहरुलाई सशर्त आवासीय भिजा दिएपनि सबैका भूपू गोर्खाका सन्तान बेलायतमा नभएकाले छोटो अवधिको बिदा उनीहरुका हकमा निकै कष्टकर बनेको ज्ञापनमा उल्लेख छ ।

मन्त्री डोकर्टीले भूतपूर्व गोर्खा मुद्दालाई आफूले नजिकबाट हेरिरहेको र यस मागलाई बेलायत सरकारसम्म पुरयाउन आफूले पहल गर्ने बताएको अध्यक्ष गाहामगरले बताए । अध्यक्ष गाहामगरले मन्त्री डोकर्टीसंग गत वर्ष १९ अगष्ट, २०२१ मा भोक हड्तालमा बसेका तीनजना अभियन्तालाई बचाएको स्मरण गर्दै त्यतिबेला आफूले गोर्खा समस्या समाधान गर्न गरेको वाचा अहिलेसम्म पुरा नभएकाले सो प्रतिज्ञा पुरा गर्न दवाव पनि दिएका थिए ।

ज्ञापनमा गोर्खा इतिहास, उनीहरुको योगदान अनि बेलायतको आवासीय अधिकार, एनआरएनए यूकेको काम कर्तव्य लगायत पक्ष पनि अवगत गराइएको छ ।

ज्ञापन बुझाउन एनआरएनए यूके प्रमुख सल्लाहकार क्याप्टेन वीर थापा, मद्दत समूहका संयोजक तथा सल्लाहकार क्याप्टेन विष्णु श्रेष्ठ, गोर्खा आमा समूहकी सेट्टी माया गुरुङ लगायत कयौं भूतपूर्व गोर्खा सहभागी थिए ।

ज्ञापन यस्तो छ-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू