मंगलबार, वैशाख ४, २०८१
12:28 | १७:१३

ओली, पौडेल र नेपाल छैटौँ पटक संसद्मा

रासस नोभेम्बर २४, २०२२


काठमाडौं-संसद्कै ठूलो कम्युनिष्ट पार्टी नेकपा(एमाले)बाट अलग भइ गठन भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल छैटौँ पटक सङ्घीय संसद्मा प्रवेश गर्नुभएको छ ।

उहाँ रौतहट क्षेत्र नं १ बाट ३३ हजार पाँच सय २२ मत ल्याई निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । 

नेपाली कांग्रेसले नेतृत्व गरेको वर्तमान लोकतान्त्रिक वाम गठबन्धनबाट सरकारको एक घटक एकीकृत समाजवादीका नेता नेपाल सोही गठबन्धनका सहयोगमा प्रतिनिधिसभामा पुग्न सफल हुनुभएको छ ।  

यसअघि विसं २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहनुभएका नेपाल विसं  २०५६, २०६५, २०७०  र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँले  विसं २०५० सालदेखि २०६५ वैशाखसम्म नेकपा (एमाले) महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।  

विसं २०६६ जेठदेखि २०६७ माघसम्म प्रधानमन्त्री हुनुभएका अध्यक्ष नेपाल त्यसअघि एमालेका अध्यक्ष मनमोहन अधिकारीका नेतृत्वमा रहेको मन्त्रिमण्डलमा विसं २०५१ मङ्सिरदेखि २०५२ भदौसम्म परराष्ट्र र रक्षामन्त्रालयको कार्यभारसहित उपप्रधानमन्त्री हुनुहुन्थ्यो । 

विसं २०२२ देखि वामपन्थी विद्यार्थी सङ्गठनबाट राजनीतिमा संलग्न हुनुभएका उहाँ विसं २०२६ मा नेकपा(पुष्पलाल समूह)मा आवद्ध हुनुभयो ।

उहाँसँग नेकपा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि छ ।  ‘नेपाल अधिराज्यको संविधान २०४७’ संविधान सुझाव आयोगका सदस्य तथा संविधानसभा, संवैधानिक समितिका सभापति भएर उहाँले काम गर्नुभयो । 

पिता मङ्गलकुमार  र माता दुर्गादेवी उपाध्यायका कोखबाट विसं २००९ फागुन २३ गते रौतहटमा जन्म भई राजनीतिक आन्दोलनका क्रममा १६ वर्ष भूमिगत  तथा पटक–पटक गरी दुई वर्ष ६ महिना बन्दी जीवन बिताउनुभएका नेता नेपाल शाही शासनकालमा घरमै नजरबन्द हुनुभएको थियो ।

निष्ठावान् राजनीतिज्ञका रूपमा आफूलाई परिचित गराउन चाहने अध्यक्ष नेपालले मुलुकको शान्तिप्रक्रियामा ठूलो भूमिका खेल्नुभएको छ । उहाँको ‘जनताको बहुदलीय जनवाद’ र  ‘जनता जाग्दैछन्’, शीर्षक कृति प्रकाशन हुनाका साथै  उहाँसँग सम्बन्धित  ‘संसद्मा माधव नेपाल’, ‘प्रधानमन्त्री माधव नेपाल’का मन्तव्यलगायत  कृति पनि सार्वजनिक भएका छन् ।

पौडेलको छैटौँपटक संसद् यात्रा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ । 

उहाँले यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ-२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

पौडेल २०७४ को निर्वाचनमा तत्कालिन वामगठबन्धनका कृष्णकुमार श्रेष्ठसँग छ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभएको थियो । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत तनहुँ-१ बाट निर्वाचित भएर पौडेलले छैटौँ पटक संसद्को यात्रा तय गर्नुभएको हो । यसका लागि पौडेलले नेकपा (एमाले)का एकबहादुर रानालाई पाँच हजार तीन सय ७५ मतान्तरले पराजित गर्नुभयो । 

कुल ६६ हजार एक सय ५८ मत खसेकोमा चार हजार मत बदर भएको छ । पौडेलले २५ हजार तीन सय १८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो । प्रतिस्पर्धी रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गर्नुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार आठ सय ७८, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राप्रपाका विनोद घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गर्नुभएको छ । 

जिल्लाको अधुरा रहेका विकास योजनालाई निरन्तरता दिन उम्मेदवार बनेको बताउँदै आउनुभएका पौडेलले कार्यकारी पदमा रहेर काम गर्ने इच्छा रहेको बताउनुभएको छ । 

देशमा सुशासन र विकासका लागि कार्यकारी पदमा बस्ने चाहना भएको बताउँदै पौडेललाई तनहुँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उक्त बाटो खुलेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताउनुभयो ।

विसं २००१ को असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिनुभएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनुभएको थियो । 

पौडेल २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको स्थापनामा पौडेल पनि सहभागी हुनुभएको थियो । 

पौडेल २०४८ सालमा तनहुँ-१ बाट पहिलो पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँ यसबीचमा उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइसक्नुभएको छ । 

उहाँले सभामुखको जिम्मेवारी पनि निभाउनुभएको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि हुनुहुन्थ्यो । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको छ । 

जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यमध्ये नेपाली कांग्रेसले दुवै प्रतिनिधिसभामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले दुई प्रदेशसभा, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले एक-एक प्रदेशसभामा विजयी हासिल गरेका छन् । 

नेपाली कांग्रेसले तनहुँको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ र २ मा विजयी भएको छ । साथै,  निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १५ हजार तीन सय ६७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ५५ मत प्राप्त गर्नुभएको छ । 

साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान विजयी हुनुभएको छ । चुमानले १३ हजार दुई सय ७१ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का पूर्णबहादुर गुरुङले दश हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ । 

निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित हुनुभएको छ । महतले १५ हजार छ सय ६५ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ९९ प्राप्त गर्नुभयो । 

साथै, सोही क्षेत्रको प्रदेशसभा २ मा नेपाली काङ्ग्रेसका जीतप्रकाश आले विजयी हुनुभएको छ । आलेले १३ हजार आठ सय ६० मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का केदार सिग्देलले १३ हजार दुई सय २० मत प्राप्त गर्नुभयो ।

तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका शङ्कर भण्डारी विजयी हुनुभएको छ । भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभयो ।

लोकप्रिय मतसहित छैटौँ पटक एमाले अध्यक्ष ओली संसद् प्रवेश गर्दै

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा लोकप्रिय मतसहित फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गर्नुहुने भएको छ ।

अध्यक्ष ओलीले यसअघि २०४८, २०५१, २०५६, २०७० र २०७४ मा संसद्मा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । अब उहाँले छैटौँ पटक प्रतिनिधिसभा सदस्यका रुपमा सङ्घीय संसद्मा प्रवेश गर्नुहुनेछ ।

अध्यक्ष ओलीले ५२ हजार तीन १९ मत प्राप्त गरी जीत हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार सात सय ४३ प्राप्त गर्नुभयो । अध्यक्ष ओली २८ हजार पाँच सय ७६ मताअन्तरले जित हासिल गर्नुभएको हो ।

दमक नगरपालिका–१०, झापा स्थायी ठेगाना भई हाल भक्तपुरको बालकोट निवासी पूर्वप्रधानमन्त्री ओली बाबु मोहनप्रसाद ओली र आमा स्व मधु ओलीको सन्तानको रुपमा २००८ फागुन ११ गते जन्मिनुभएको हो । 

एमाले अध्यक्ष ओलीले २०२५ सालदेखि पूर्णकालीन राजनीतिक यात्राको आरम्भ गर्नुभएको थियो । विसं २०२९ मा झापा आन्दोलनपछि १४ वर्ष जेल जीवन व्यतित गर्नुभएको थियो । उहाँ २०४४ सालपछि पुनः पार्टी गतिविधिमा सक्रिय हुनुभएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीले २०४६ सालमा तत्कालीन नेकपा (माले) को लुम्बिनी प्रमुख भएर काम गर्नुभएको थियो । त्यस्तै, २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको संस्थापक अध्यक्ष भएर काम गर्नुभयो । पूर्वप्रधानमन्त्री ओली २०४७ सालमा नेकपा (एमाले) को स्थायी समिति सदस्य बन्नुभएको थियो ।

ओली २०७१ सालमा एमालेको अध्यक्ष बन्नुभएको थियो भने २०७५ सालमा एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष बन्नुभएको थियो ।

एमाले अध्यक्ष ओलीले २०४८, २०५१ र २०५६ सालमा झापा–६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा–७ बाट निर्वाचित भई उहाँले संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

ओली सङ्घीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित हुनुभएको थियो भने अहिले उहाँ झापा–५ बाट विजय हुनुभएको छ ।

एमाले अध्यक्ष ओलीले २०७२ र २०७४ मा  गरी दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले त्यसअघि, उपप्रधान एवं परराष्ट्रमन्त्री २०६३ सालमा र २०५१ सालमा गृहमन्त्रीको कार्यभार सम्हाल्नु भएको थियो ।

पाँच दशकदेखि राजनीतिमा सक्रियरूपमा रहनुभएका एमाले अध्यक्ष ओली तत्कालीन नेकपा (माले) का संस्थापक नेतामध्ये एक हुनुहुन्छ । दोस्रो पटक मुलुकको कार्यकारी नेतृत्वमा रहनुभएका उहाँ स्पष्ट अडान राख्ने नेताका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँलाई युनिभर्सिटी फर पिस (कोस्टारिका), कोरियाको काइनाम विश्वविद्यालय, भारतको जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेका छन् । अध्यक्ष ओलीको विकास र राजनीतिक दृष्टिकोण समेटिएको पुस्तकसमेत प्रकाशित छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू