बिहीबार, जेठ ३, २०८१
02:33 | ०७:१८

भैरहवाबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडान सुरु

रासस नोभेम्बर ३, २०२२

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आइपुगेको हिमालय एयरलाइन्सको चार्टर्ड विमान । आजदेखि हिमालय एयरलाइन्सले क्वालालम्पुर– भैरहवा– क्वालालम्पुर चार्टर्ड उडान सुरु गरेको छ । तस्बिर- राधेश्याम विश्वकर्मा/रासस

भैरहवा, १७ कात्तिक – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस नपाएको चर्चा चलिरहेका बेला हिमालय एयरलाइन्सले यहाँबाट मलेसियाको क्वालालम्पुरका लागि चार्टर्ड उडान सुरु गरेको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनवटा अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनीलाई त्योभन्दा बढी उडान गर्ने भए भैरहवाबाट गर्नुपर्ने गरेको बाध्यात्मक व्यवस्थाका कारण हिमालय एयरलाइन्सले आज चार्टर्ड उडान सुरु गरेको छ ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्सले दैनिक तथा नियमितरूपमा चार्टर्ड उडान गर्ने जनाए । “अहिलेको चार्टर्ड उडान भनेको बजारको अवस्था बुझ्न गरिएको हो”, उनले भने, “भोलिका दिनमा निर्धारितरूपमै नियमित उडान गर्ने गरी अहिलेको चार्टर्ड उडान गरेका हौँ ।”

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकाले यसमा सबै नेपालीको लगानी रहेका कारण हिमालय एयरलाइन्सले पनि यसलाई अपनत्व ग्रहण गर्ने श्रेष्ठले बताए । उनले परीक्षणका क्रममा भैरहवाको विमानस्थल उडान सञ्चालन गर्न योग्य रहेको बताउँदै अब नियमित उडान गर्न सकिने जिकिर गरे ।

नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विविध प्राविधिक कारणबाट समस्या रहे पनि अहिले समस्या समाधान भइरहेको र अब भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बढ्ने बताए ।

भैरहवा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले स्वदेशी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई बाध्यत्मक अवस्था बनाएकाले पनि अब भैरहवाबाट उडान गर्नुपर्ने उनको भनाइ थियो । “स्वदेशी र अन्तर्राष्ट्रिय वायुसेवालाई काठमाडौँबाट उडान अनुमति दिएसम्म अबको पाँच वर्षसम्म पनि उहाँहरू भैरहवा आउनुहुन्न”, अधिकारीले भने, “दिनको तीनवटा भन्दा बढी उडान गर्ने कम्पनीलाई चौथो उडान गर्न मन भए उसले अब भैरहवाबाट गर्नुपरयो ।”

यही व्यवस्था लागू भएपछि हिमालय एयरलाइन्स भैरहवा आएको र अब छिट्टै नेपाल एयरलाइन्सले पनि उडान थाल्ने उनले दाबी गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सबैले आ–आफ्नो स्थानबाट आफ्नो काम गरिदिनुपर्ने उनको भनाइ थियो ।

महानिर्देशक अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णयसमेत भएको जानकारी दिए । “गौतमबुद्ध विमानस्थलबाट जाने या आउने यात्रुले बोर्डिङ पास र टिकट देखाए आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णय गरेका छौँ”, उनले भने, “यसका साथै उनीहरूका लागि लगेजमा पनि ३५ किलोसम्म ल्याउन मिल्ने निर्णय गरेका छौँ ।”

यो सुविधाले पनि भैरहवाबाट उडान गर्ने यात्रुलाई सुविधा पुग्ने अधिकारीको भनाइ छ ।

उनले नोभेम्बर १२ तारिखदेखि कुवेत एयरले पनि भैरहवाबाट उडान सुरु गर्ने जानकारी दिए । यस्तै थाइल्याण्डलगायतका देशका वायुसेवा कम्पनीबाट समेत उडान भर्ने तयारी भइरहेको उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव सुरेश अधिकारीले एयररुटलगायत भैरहवाबाट भारतीय सहरमा उडानको सम्भावनाका विषयमा पहल भइरहेको बताए । उनले भारतसँग भएको विशिष्ट सम्बन्धका कारण भारत पनि यसमा सकारात्मक रहेको बताए । यसका लागि राजनीतिक, कूटनीतिक तथा प्रशासनिक प्रयास भइरहेको उनले जानकारी दिए ।

विसं २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको छ । अहिले यहाँबाट जजिरा एयरलाइन्सले मात्रै सातामा तीनवटा उडान गरिरहेको छ । उडान र अवतरण गरी एक सय ७८ वटा उडान भरेको जजिराबाट अहिलेसम्म करिब २२ हजार यात्रु लाभान्वित भएको महाप्रबन्धक गोविन्दप्रसाद दहालले जानकारी दिए ।

विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डययन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि सतप्रतिशत छुट दिएको छ ।

यस्तै नेपाल वायुसेवाले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको महानिर्देशक दहालले जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ निगमलाई नदिने

प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ जिम्मा नेपाल वायुसेवा निगमलाई नदिने घोषणा गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरण आफैँले गर्ने घोषणा गरे ।

यसअघि पोखराको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी निगमलाई दिइएको थियो । तर निगमले दिने सेवाको गुणस्तरमा प्रश्न उठिरहेकाले पोखराको जिम्मेवारी खोस्ने उनले घोषणा गरेका हुन् । ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरणले गर्ने अधिकार रहेकाले त्यसको अधिकार प्रयोग गर्ने महानिर्देशक अधिकारीको भनाइ छ ।

गौतमबुद्ध विमानस्थलबाट हवाई उडान गर्न निगमले आनाकानी गरेसँगै प्राधिकरण र निगमबीच सम्बन्ध चिसिएको छ । महानिर्देशक अधिकारीले जहाज नउडाउने तर ग्राउन्ड ह्यान्डलिङको काम मात्र गर्छु भन्ने अधिकार निगमसँग नरहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू