बिहीबार, कार्तिक ८, २०८१
17:53 | २२:३८

सरस्वती चौधरीले एथलेटिक्समा बनाइन् नयां कीर्तिमान

रासस अक्टोबर १५, २०२२
कास्की, २९ असोज – बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो । विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर उनले जिल्लास्तरीय प्रतियोगिता खेल्न सुरु गरिन् ।
जिल्लामा राम्रो गरेपछि उनी विभागीय टोलीको नजरमा परिन् । नेपाली सेनामा आबद्ध भएपछि चौधरीलाई खेलका लागि अझ राम्रो वातावरण मिल्यो । विभागीय टोलीमा रही खेलकुदमा केन्द्रित भएर लागिरहँदा चौधरीको खेल जीवनमा आज ठूलो सफलता मिलेको छ ।
पोखरा रंगशालामा नवौँ राष्ट्रिय खेलकुदको एथलेटिक्सअन्तर्गत महिला १०० मिटर दौडमा यसअघिको कीर्तिमान तोड्दै सरस्वतीले स्वर्ण पदक जितेपछि उनी असाध्यै खुशी छन् ।
सरस्वतीले १२ दशमलव १३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदा उनको खेल जीवनमा उत्साह थपिएको छ । यसअघि हिटमा लुम्बिनी प्रदेशकी निशा चौधरीले १२ दशमलव १५ सेकेण्डको कीर्तिमानलाई फाइनलमा सरस्वतीले तोडिन् । निशाले निर्धारित दूरी पूरा गर्न १२ दशमलव २२ सेकेण्डको समय लगाएकी थिइन् ।
यसअघि देवीमाया पनेरुको नाममा रहेको १२ दशमलव १९ सेकेन्डको राष्ट्रिय कीर्तिमान निशाले १२ दशमलव १५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन् । यसअघि दाङमा भएको आठौँ राष्ट्रिय खेलकुदमा पनि उनले स्वर्ण पदक हासिल गरेकी थिइन् । त्यसबेला उनले १२ दशमलव १९ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । 
आठौँदेखि नै उनको मनमा नयाँ कीर्तिमान कायम गर्नुपर्दछ भन्ने लागिरह्यो तर ठ्याक्कै आजै रेकर्ड राख्छु भन्ने चाहिँ नसोचेको बताउंछिन् उनी ।
उनले भनिन्, “जिल्लास्तरीय खेल्दादेखि नै सबैले तिमीले राम्रो गर्छौ, भन्नुहुन्थ्यो, आफूलाई कमजोर सोचेको थिइनँ । राष्ट्रिय कीर्तिमानको सपना बोकेर नै प्रतियोगिता खेल्न आएको हुँ । सक्छु कि सक्दिन भनेर मनमा लागिरहन्थ्यो । कीर्तिमान बनाउँदा अहिले असाध्यै खुशी छु ।”
चौधरी आफ्नो खेल जीवनको सफलतामा धेरै गुरुको साथ रहेको बताउंछिन् । कीर्तिमान राख्नका लागि ठूलो मेहनत गरेको भन्दै उनले यसलाई कायमै राख्न थप मेहनत गर्ने बताइन् ।
“जिल्लास्तरीय प्रतियोगितामा विद्यालयबाट विक्रमचन्द्र गुरुले ल्याउनुभयो । पछि आर्मीमा जोइन भएपछि त्यहाँ खेलको राम्रो वातावरण बन्यो, पछि ओलम्पिकसमेत खेलेँ”, चौधरीले भनिन् । उनी विसं २०७४ देखि विभागीय नेपाली सेनामा आबद्ध छन् ।
यसैगरी पुरुषतर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरीको एपिएफका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । उनले निर्धारित दौड १० दशमलव ५६ सेकेण्डमा पूरा गरे । पार्कीले यसअघि सन् १९९९ मा रामकृष्ण चौधरीले १० दशमलव ७१ सेकेण्डको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । एथलेलिक्टमा एकैदिन सात स्वर्ण पदकको छिनोफानो भएको छ ।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आजदेखि पोखरामा थप विभिन्न १२ खेल भएका छन् । असोज २३ देखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि सुरु भएका हुन् । प्रतियोगिताअन्तर्गतका केही खेल असोज २३ देखि नै सुरु भएका थिए । अधिकांश प्रदेशका आठ जिल्लामा खेल भइरहेका छन् ।
आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआएरएनको एक गरी ११ टोलीका छ हजार एक सय ५७ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू