सोमबार, साउन ७, २०८१
11:31 | १६:१६

ग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्दै शेष घले

रमेश लम्साल/रासस अक्टोबर ११, २०२२

काठमाडौँ, २५ असोज – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ ।

सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनमा लगानीका लागि तयारी गरेको हो ।

कार्यक्रम स्थलमा रासससँग आज कुराकानी गर्दै व्यवसायी घलेले ऊर्जाको वैकल्पिक स्रोतको रुपमा हाइड्रोजनको प्रयोग संसारभर नै भइरहेको सन्दर्भमा आफूहरूले यसमा लगानी गर्न लागेको जानकारी दिए । उनका अनुसार लगानीका लागि हाल प्रारम्भिक चरणको काम भइरहेको छ ।

काठमाडौँको दरबारमार्गमा होटल शेराटन निर्माण गरिरहेको घलेको एमआइटी समूहले ऊर्जाका वैकल्पिक स्रोतका रुपमा प्रयोग हुन थालेको हाइड्रोजनका लगानी गर्नका लागि तत्काल नीतिगत अभाव भए पनि क्रमशः त्यसको परिपूर्ति हुने बताए ।

संसारका दुई अर्ब मानिसका मानिसको स्रोतका रुपमा रहेको हिमाल पग्लन थालेको, हिमनदीमा त्यस्तै समस्या देखिएको भन्दै उनले सामाजिक दायित्वका साथ आफूहरू यस क्षेत्रमा लगानीका लागि आतुर रहेको बताए ।

पछिल्ला दुई वर्ष कोरोनाका कारण संसारभर नै लकडाउनमा परेको बेला आफू र आफ्नो समूहले ऊर्जाको वैकल्पिक स्रोतमा लगानी गर्ने सोचको विकास गरेको जानकारी दिँदै व्यवसायी घलेले भने, “नेपाल ग्रीन हाइड्रोजनको हब बन्न सक्छ । त्यसका लागि आजैदेखि हामी सबैले पहल गरौँ ।”

नेपालमा क्रमशः ऊर्जाको उपलब्धतामा बृद्धि हुँदै गएको छ । औपचारिक रूपमा जलविद्युत् आयोजनाको कूल जडित क्षमता दुई हजार तीन सय मेगावाट बराबर पुगेको छ । वर्षायाममा भारतलाई तीन सय ६४ मेगावाट बिजुली बिक्री गरिएको भएपछि पछिल्ला दिनमा चाडवाडको समयमा झण्डै पाँच सय मेगावाट बराबरको बिजुली खेर गएको छ ।

बिजुलीको प्रयोग गरेर नेपालमा उपलब्ध हुने स्वच्छ पानीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने र त्यसलाई वैकल्पिक ऊर्जाको रुपमा विश्व बजारमा बिक्री गर्ने योजनाका साथ आफूहरू यसमा लागिपरेको उनको भनाइ छ । हाल अध्ययनको क्रममा नै रहेको उल्लेख गर्दै उनले हाइड्रोजनका अलावा एमोनिया र यूरिया पनि उत्पादन गर्न सकिने बताए ।

कूल ऊर्जाका हिसाबले हाइड्रोजन उपयुक्त रहेको जानकारी आफूले विज्ञबाट पनि पाएको उनको भनाइ छ । नेपालका हिम श्रृङ्खलाहरू विश्वव्यापी जलवायु परिवर्तनको उच्च जोखिममा छन् । त्यहाँका हिमाल र हिमतालको हिउँ नै कोशी, गण्डकी, कर्णालीलगायत अन्य नदीको मुहान हुन् । यी नदीहरू नै गंगा नदीको तटमा बसोबास गरिरहेका ५० करोडभन्दा बढी मानिसले पिउने पानीको स्रोत बनिरहेको तर जलवायु परिवर्तनको असर स्वरुप निम्तिएको तापक्रम वृद्धिलगायत अन्य लक्षणका पहिलो प्रहार तिनै हिमालको हिउँ र हिमतालमाथि भइरहेको छ ।

गत वर्ष कोप–२६ मा सहभागी भएको नेपालले सन् २०४५ सम्ममा कार्बन तटस्थ बन्ने प्रतिबद्धता जनाएको छ । जलवायु परिवर्तनका कारण बढ्दो जोखिम, विश्वव्यापी रुपमा कार्बन उत्सर्जन कम गर्नुपर्ने आवश्यकताजस्ता विविध समस्यामाथि नेपालले नेतृत्व गरेर समाधान दिन सक्ने अवसर पनि हाइड्रोजनबाट नै देखिन्छ । कार्बनडाइ अक्साइड तथा कार्बन मोनो अक्साइडजस्ता विशालु ग्यासको उत्सर्जन घटाउन पनि स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने आवश्यकता छ ।

नेपालले सक्रिय रुपमा पर्यावरणीय समस्याको दीर्घकालीन समाधानका लागि नवीनतम उपाय पत्ता लगाउन सक्ने जानकारी दिँदै व्यवसायी घलेले सरकारबाट सक्रिय सहयोगको अपेक्षासमेत गरेका छन् ।

हाइड्रोजनबाट एमोनिया हुँदै रासायनिक मल कारखाना खोल्ने गरी ‘पाइलट प्रोजेक्ट’ निर्माण गर्ने निष्कर्षमा सरकार समेत पुगेको छ । तर, घले अब पाइलट प्रोजेक्टको जरुरी नरहेको बताउंछन् । विश्व बैंक, एशियाली बैंकजस्ता बहुपक्षीय दातृ निकायको सहयोगमा नेपालमा छिट्टै ग्रीन हाइड्रोजन उत्पादनको काम शुरु गर्नुपर्ने उनको भनाइ छ ।

एक अध्ययनअनुसार आवश्यक नीतिगत व्यवस्था र अन्य पूर्वसर्त पूरा गर्ने हो भने नेपालमा तीन वर्षभित्रै वार्षिक दुई लाख मेट्रिक टन उत्पादन गर्न सम्भव रहेको काठमाडाँै विश्व विद्यालयका सहप्राध्यापक विराज सिंह थापाको भनाइ छ ।

वातावरणको संरक्षण र प्रवद्र्धनका दृष्टिले हाइड्रोजनको खपत यातायात र औद्योगिक क्षेत्रमा गराउन सक्दा जीवाश्म इन्धनको निर्भरतालाई कम गर्न सकिन्छ । अध्ययनहरूले ठूला पानी जहाज, लरी ट्रकहरू हाइड्रोजन मार्पmत सञ्चालन गर्दा आर्थिक र वातावरणीय हिसाबले अत्यन्तै लाभदायी हुने निष्कर्ष निकालिसकेका छन् । युरोपेली मुलुकमा त्यस्ता बस तथा ट्रकको निर्माण शुरु भइसकेको छ ।

विद्युत्को प्रयोग गरी पानीको विद्युतीय विच्छेदन (इलेक्ट्रोलाइसिस)बाट उत्पादित हरित हाइड्रोजनलाई ‘केमिकल फिडस्टक’को रुपमा रासायनिक मल उद्योग, स्टील उद्योग, यातायातमा प्रयोग गर्न सकिन्छ । तर ग्रीन हाइड्रोजनको उत्पादनलागत ग्रीन हाइड्रोजनको तुलनामा धेरै छ ।

हरित हाइड्रोजनको उत्पादन लागत प्रतिकेजी पाँच दशमबल पाँच अमेरिकी डलर रहेको छ भने ग्रीन हाइड्रोजनको उत्पादन लागत दुई अमेरिकी डलर छ । उत्पादनलागत घटाउन विद्युतीय विच्छेदनमा लागेको लागत र नवीकरणीय ऊर्जा उत्पादनमा लाग्ने लागत कम गर्नुपर्छ ।

अध्ययनअनुसार इलेक्ट्रोलाइजरको लागत एक हजार अमेरिकी डलर बराबर छ । कोभिड–१९ का कारण सिर्जित माग आपूर्तिबीचको असन्तुलन र रुस–युक्रेन युद्धका कारण इन्धनको मूल्य आकासिएको सन्दर्भमा लगानीको उपयुक्त विकल्पका रुपमा हाइड्रोजन नै रहेको व्यवसायी घलेको भनाइ छ ।

नेपाल जलसम्पदाले भरिपूर्ण भएका कारण पनि जल विद्युत् उत्पादनको सम्भावना उच्च छ । जलविद्युत् उत्पादन बढ्दै गर्दा अरु देशको तुलनामा हरित हाइड्रोजन उत्पादन गर्दा उत्पादनलागत कम हुनेछ । काठमाडौँ विश्वविद्यालयको हाइड्रोजन ल्याबले गरेको अध्ययनअनुसार नेपालमा बढी भएको जलविद्युत् हरित हाइड्रोजन उत्पादनमा प्रयोग गर्ने हो भने उत्पादन खर्च दुई अमेरिकी डलरभन्दा कम पर्ने देखिन्छ ।

हाइड्रोजन अर्थतन्त्रको उदय हुँदै गर्दा नेपाल त्यसको हब बन्न सक्ने भएकाले विदेशी लगानीकर्ताको चासो समेत बढेको व्यवसायी घलेको भनाइ छ । उनले भारतको अडानी समूहले पनि ग्रीन हाइड्रोजनमा लगानी गर्न खोजेको र सो समूहसँग पनि सहकार्य हुन सक्ने जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू