शनिबार, वैशाख १५, २०८१
22:26 | ०३:११

बेलायती महारानीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का सहभागी

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२२

आइतबार शोकपुस्तिकामा हस्ताक्षर गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्का

लन्डन । बेलायती महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा नेपाल सरकारका परराष्ट्रमन्त्री डा नारायण खड्का सहभागी भएका छन् ।

संसारभरबाट आएका राष्ट्रप्रमुख एवम् नेताहरुसंगै नेपालको प्रतिनिधित्व गर्दै मन्त्री खड्काले पनि सोमबार लन्डनमा सम्पन्न महारानीको राजकीय अन्त्येष्टिमा भाग लिएका हुन्।

लन्डनस्थित नेपाली दूतावासका अनुसार मन्त्री खड्काले अन्त्येष्टि समारोहको समापनपछि बेलायती विदेशमन्त्रीले आयोजना गरेको रिसेप्सनमा पनि भाग लिएका छन् ।

यसअघि आइतबार बेलुका राजा चार्ल्स तृतीयले बकिंगहम प्यालेसमा आयोजना गरेको रिसेप्सनमा मन्त्री खड्का सहभागी भएका थिए । जहाँ विश्वका विभिन्न मुलुकबाट आएका राष्ट्रप्रमुख, नेताहरु एवम् कूटनीतिक प्रतिनिधिहरुको सहभागिता थियो ।

त्यसअवसरमा मन्त्री खड्काले बेलायती राजपरिवारका केही सदस्य, बेलायती प्रधानमन्त्री लिज ट्रस एवम् पूर्व प्रधानमन्त्रीहरुका साथै अन्य मुलुकबाट आएका सरकार प्रमुख एवम् नेताहरुसंग भेटघाट गरेको दूतावासले जनाएको छ ।

आइतबार नै उनले लन्डनको लांकास्टर हाउस पुगेर शोकपुस्तिकामा हस्ताक्षर गर्दै महारानी एलिजावेथप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

महारानीको अन्त्येष्टीमा सहभागी हुन बेलायत सरकारले नेपाललाई पठाएको निमन्त्रणामा बेलायत आएका मन्त्री खड्का मंगलबार बिहान नेपाल फर्किदैछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू