शुक्रबार, वैशाख १४, २०८१
01:47 | ०६:३२

बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुन विश्व नेताहरु लन्डनमा

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२२

दिवंगत महारानी एलिजावेथ

लन्डन, १ असोज–बेलायतकी दिवंगत महारानी एलिजावेथ द्धितियको अत्येष्टिमा सहभागी हुन विश्व नेताहरु लन्डन आउने क्रम शुरु भएको छ । कतिपय नेताहरु लन्डन आइसकेका छन् भने कयौं छिट्टै आइपुग्ने जनाइएको छ ।

भारतकी राष्ट्रपति द्रोपदी मुर्मु शनिबार बेलायत प्रस्थान गरेकी छन् । उनले महारानीको अन्त्येष्टि समारोहमा सहभागी भई भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै बेलायती राजपरिवार र बेलायती जनताप्रति सहानुभूति व्यक्त गर्ने छिन् । उनले सोमबार ल्यानक्यास्टर हाउसमा रहेको शोक पुस्तिकामा हस्ताक्षर समेत गर्ने जनाइएको छ ।

अन्त्येष्टि समारोहमा चीनको तर्फबाट उपराष्ट्रपति वाङ क्विशानले सहभागिता जनाउने भएका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको विशेष प्रतिनिधिका रुपमा उनले सहभागिता जनाउने भएका हुन् ।

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुन बेलायत आउंदैछन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज भने लन्डन आएर ल्यानक्यास्टर हाउसमा रहेको शोक पुस्तिकामा हस्ताक्षर समेत गरिसकेका छन् ।
बेलायत सरकारले महारानीको अन्त्येष्टि समारोहमा आतिथ्य ग्रहण गर्न आग्रह गर्दै विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरूलाई निमन्त्रणा गरेको छ । बेलायतको निमन्त्रणा अनुसार धेरै देशका सरकार तथा राष्ट्रप्रमुखहरु अहिले लन्डन आउंदैछन् ।

महारानी एलिजावेथ द्धितियको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ ।

विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चार्लसद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुनेछन् ।

महारानी एलिजाबेथको सेप्टेम्बर ८ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ बर्षको उमेरमा निधन भएको हो । उनको निधनमा बेलायतसहित धेरै देशमा राष्ट्रिय शोक मनाउने घोषणा गरिएको थियो ।

औपचारिक रूपमा शोक प्रकट गर्न अहिले बेलायतका सरकारी र राजपरिवारसँग सम्बद्ध कार्यालयहरुमा झण्डा आधा झुकाइएको छ ।

तर राजा रहेको ठाउँमा भने झण्डा नझुकाइने अभ्यास छ । एउटा राजा वा रानीको निधन भएपनि अर्को राजाले तत्कालै जिम्मेवारी लिने भएकाले राजा रहेको ठाउँमा झण्डा नझुकाइने भएको हो ।

अन्य ठाउँमा झुकाइएका झण्डा भने महारानीको राजकीय अन्तिम संस्कार सकिएको भोलिपल्ट विहान ८ बजेसम्म नै आधा झुकाइने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू