बिहीबार, वैशाख ६, २०८१
14:51 | १९:३६

नवौँ राष्ट्रिय खेलकुदको खेलस्थल र तालिका सार्वजनिक

रासस सेप्टेम्बर १४, २०२२

पोखरा रंगशाला

गण्डकी । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद आउन ठिक एक महिना बाँकी छँदा प्रतियोगिताअन्तर्गतका ३६ खेलका खेलस्थल सार्वजनिक गरिएको छ ।

प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो । खेलस्थल र खेलतालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ ।

खेल स्थल सार्वजनिक गर्न निर्धारित समयभन्दा केही ढिलाइ भएकामा आज राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा एक कार्यक्रम आयोजना गरी सबै खेलका खेलस्थल र खेल तालिका सार्वजनिक गरेको हो ।

आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ ।

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रंगशालमा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए ।

बास्केटबल पुरुष पोखरा रंगशाला र महिलाको खेल पृथ्वीनारायण क्याम्पस, आर्चरी, फेन्सिङ पोखरा रंगशालामा हुनेछ ।

यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।

रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने निर्णय परिषद्ले गरेको छ ।

यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ ।

स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ ।

यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्यगरी नेशनल स्पोर्टस् काउन्सिल एप सञ्चालनमा ल्याएको छ । सो एपबाट खेलको तयारी, नतिजालगायतका सबै विवरण जानकारी दिइने परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए । उनका अनुसार खेलस्थल र खेल तालिका बनिसकेकाले तयारीका काम अघि बढाइएको छ ।

परिषद्ले पहिलो पटक खेलाडीको अनलाइन दर्ता सुरु गरिएको जनाएको छ । प्रत्येक टोलीले खेलाडीको अनलाइन फाराम भर्नुपर्ने उनले जानकारी दिए । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि परिषद्ले सोअघि नै खेल तालिका बनाएको छ । नवौँअन्तर्गतको पुरुष क्रिकेट हाल राजधानी काठमाडौँमा जारी छ । क्रिकेट महिला असोज २३ गतेदेखि पोखरामा सुरु हुनेछ ।

प्रतियोगिताको मूल ट्रफी भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सार्वजनिक गरिने र सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा ट्रफी प्रदर्शनी रयाली आयोजना गरिने सदस्य सचिव घिसिङले बताए ।

ट्रफी रयालीका लागि ओलम्पियन दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यसीय कार्यदल गठन भइसकेको र प्रदेशगत प्रदर्शनी असोज १ गतेदेखि सुदूरपश्चिमबाट सुरु गरी क्रमशःअन्य प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा लगिने परिषद्ले जनाएको छ ।

खेलस्थल सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय गौरवसँग जोडिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उनले प्रतियोगिताका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै सरकारी तथा निजी क्षेत्र मिलेर सफल पारिने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू