शनिबार, वैशाख ८, २०८१
20:23 | ०१:०८

निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मंगलबार

रासस सेप्टेम्बर ११, २०२२

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज 
चौंथो दिन बयान दिएका छन् । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहोरयाएका छन् ।

आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भने, “नेपालको संविधानविपरीत मैले केही गरेको छैन, हरेक पार्टीमा बारका पदाधिकारीको आकांक्षा हुन्छ, हरेक पार्टीले न्यायाधीश नियुक्तिका लागि नाम नै पठाएका हुन्छन्, मैले गरेको काम सबै छर्लंग छ ।”

उनले आफूले संविधान र कानुनबमोजिम काम गरेको बताए ।

आजसम्म ३५ जबरालाई प्रश्न गरिएको छ । अब मंगलबार आठवटा प्रश्नमा सवाल-जवाल हुनेछ । उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले भने, “मंगलबार सवाल र जवाफ सकिनेछ, बाँकी काम अघि बढाइनेछ ।”

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो ।

जबरााविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुंदेपत्र समितिलाई बुझाएका थिए । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू