आइतबार, जेठ ६, २०८१
10:13 | १४:५८

प्रिन्स चार्ल्स र फिलिपले शिकार खेल्दा झोला बोक्थे गाहामगर

नेपाली लिङ्क सेप्टेम्बर ११, २०२२

लन्डन । बेलायती महारानी एलिजावेथ द्वितीयको ९६ वर्षको उमेरमा गत बिहीबार निधन भएपछि बेलायतस्थित भूतपूर्व गोर्खाहरु पनि शोकमा छन् । श्रद्धान्जलि अर्पण गर्न लन्डन बकिङहम प्यालेस अगाडि जानेको भीड जारी छ ।

ब्रिटिश आर्मीको फष्ट रोयल गोर्खा राइफल्स् (वानआरजिआर) मा १३ वर्ष सेवा गरेर अवकास लिएका प्रेम गाहामगरले स्वर्गीय महारानी एलिजावेथसहित राजपरिवार सदस्यहरुसंग निकट हुने मौका पाएका थिए ।

महारानीको निधनपछि आफू निकै स्तव्ध भएको उनले बताए । एनआरएनए यूके अध्यक्ष समेत रहेका गाहामगर मंगलबार बकिङहम प्यालेस गएर पुष्पगुच्छा अर्पण गर्ने र संस्थागत रुपमा १७ तारिख शोकसभा मनाउने निर्णय गरिएको बताउंछन् ।

सन् १९९७ डिसेम्बर ३ मा लन्डनस्थित गोर्खा सालिकको उद्घाटनमा स्वर्गीय महारानी एलिजावेथसंग भेट्ने मौका पाएको गाहामगरले स्मरण गरे ।

‘गोर्खा मेजर उदयबहादुर गुरुङको नेतृत्वमा परेडमा थियौं हामी । म ब्रिटिश आर्मीमा भर्ती भएको एक वर्षमात्र भएको थियो । महारानीले तिमी कहांबाट आयौं भन्दा मैले जोडसंग चिच्याएर (आर्मी स्टाइलमा) नेपालको पश्चिमी भागबाट आएको मौसुफ भनेको थिएं’, उनले सुनाए ।

सन् २००१ तिरको कुरा हो । महारानी दिवंगत भएको स्कटल्याण्ड बाल्मोरलमा प्रिन्स फिलिप र प्रिन्स चाल्र्स (वर्तमान राजा) समरमा स्पोर्ट्स हन्टिङ (वन कुखुरा, मृग आदि मार्ने) मा जांदा आफू उनीहरुको शिकार खेल्ने सामग्रीसहित झोला बोकेर जंगलतिर हिंड्ने गरेको गाहामगरले बताए । साथमा ४०-५० वटा कुकुर पनि हुन्थे ।

‘मैले झोला बोकेको प्रतिदिन ५० पाउण्ड पाउंथे’, उनले स्मरण गरे ।

सन् २००१ मेतिर स्कटिस युनिट रोयल हाइल्यान्डरमा काम गर्थे उनी । प्रत्येक २५ वर्षमा हुने हाइल्याण्डर परेडमा प्रिन्स चार्ल्स र फ्रिन्स फिलिपलाई भेट्न पाएका थिए गाहामगरले ।

‘हाइल्याण्डर परेड सकिएपछि सर्वसाधारण, सैनिक र तिनका परिवारसंग प्रिन्सहरु उभिएरै बियर खाने, गफ गर्ने गर्नु हुन्थ्यो’, उनले भने, ‘स्वभाव डाउन टु अर्थ थियो उहांहरुको ।’

सन् २००३ मा गाहामगरले स्याण्डहस्ट मिलिट्री पर्पोज गार्ड सर्भिस (एमपीजिएस) मा काम गर्ने मौका पाएका थिए । यो जिम्मेवारी गोर्खालीमा पहिलोपटक उनलाई मिलेको थियो ।

त्यहां झण्डै दुई वर्ष काम गरेका गाहामगरले कामको सिलसिलामा प्रिन्स विलियम (भावी राजा) लाई ७ पटक जति ‘एस्कर्ट’ गर्ने मौका पाएको सम्झन्छन् ।

‘प्रिन्स विलियम पोलो खेल्न सामान बोकेर आउनु हुन्थ्यो । उहां सामान्य भक्सवागन (भिडब्लू) गाडी आफैं हांकेर आउने । नेपालमा सामान्य मन्त्री हिंड्दा त कत्रो रवाफ हुन्छ तर प्रिन्स विलियम भने साधारण तरिकाले आउने गरेको मलाई याद छ’, उनले सुनाए ।

रानीका श्रीमान स्वर्गीय फिलिपसंग पनि गाहामगरको बेग्लै सम्झना छ । हाइल्याण्डर परेड सकिएपछि फिलिपले उनलाई सोधे, ‘यो तिम्रो श्रीमति हो ?’ गाहामगरले जवाफ दिए, ‘हजुर हो अनि यो मेरो ठूलो छोरा । त्यही बेला फिलिपले छोरा अरुको पनि हुन सक्छ नि भन्ने भावमा ‘आइ होप सो’ भन्दै जोक गरेको गाहामगरले बताए ।

सरकारलाई हस्तक्षेप नगर्ने, बरु उत्प्रेरित र आवश्यक परे सल्लाह दिने भएकाले राजसंस्था सबैको लोकप्रिय बनेको उनको बुझाइ छ ।

यसैबीच, बेलायती महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि यही सेप्टेम्बर १९ तारिख सोमबार हुने भएको छ ।

गत विहीबार स्कटल्याण्डको बाल्मोरल प्यालेसमा स्वर्गरोहण भएकी महारानीको अन्तिम संस्कार उक्त दिन लन्डनस्थित वेष्टमिन्स्टर आबीमा हुने बकिङहम प्यालेसले जनाएको छ । त्यसदिन सार्वजनिक विदा दिने घोषणा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू