शुक्रबार, वैशाख ७, २०८१
04:59 | ०९:४४

साफ च्याम्पियनसिपमा नेपालको सुखद् सुरुआत

रासस सेप्टेम्बर ६, २०२२

दशरथ रङगशालामा मङगलबार नेपाल र भुटानबीच साफ महिला च्याम्पिएनसिप प्रतियोगितामा फूटबल खेल्दै खेलाडी । तस्बिर- प्रदीपराज वन्त, रासस

काठमाडौं । नेपालकी सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।
नेपालले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल थप्यो । नेपालकी चर्चित फरवार्ड खेलाडी सावित्राले खेलको पहिलो हाफको १२ औँ मिनेटमा एक गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । भुटानकी गोलरक्षक संगीता मोनगेर गोलपोष्टबाट अघि बढ्दै बल क्यिर गर्न खोज्ने क्रममा नेपालकी अमिशा कार्कीले दिएको पासलाई सदुपयोग गर्दै सावित्राले गोल गरिन् । यसै खेलबाट राष्ट्रिय सिनियर टिममा अमिशाले डेब्यू गरेकी हुन् ।
यसैगरी खेलको ६८ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको दोस्रो हाफको सुरुआती समयमा नै मैदान प्रवेश गरेकी रेखाकुमारी पौडेलको पासलाई सदुपयोग गर्दै सावित्राले वान भर्सेस वान टचमा गोल गरेकी हुन् ।
खेलको ७३ औँ मिनेटमा नेपालकी मिडफिल्डर अनिताले भुटानका दुई मिडफिल्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरिन् । खेलको ८५औँ मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाइन् । नेपालकी अनिता केसीको क्रस बललाई भुटानी गोलरक्षकले पञ्च गरेर बाहिर फालेको बललाई सदुपयोग गर्दै अनिताले गोल गरेकी हुन् ।
खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले खेलको पहिलो हाफमा वर्षाका कारण खेलाडीले सोचेअनुरुपको खेल प्रदर्शन गर्न नसकेको बताए । उनले खेलको दोस्रो हाफमा भने खेलाडीले राम्रो खेलेको बताउँदै भुटान राम्रो टोली भएको टिप्पणीसमेत गरे ।
त्यसैगरी भुटानकी सहायक प्रशिक्षक टंकमाया घलेले नेपाल फिजिकली रुपमा ‘स्ट्रोङ’ भएका कारणले पनि आफ्नो टोली पराजित हुन पुगेको बताइन् । उनले अर्को खेलमा भने राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरिन् । नेपालले अब यही भदौ २७ गते समूह चरणको दोस्रो खेल श्रीलंकासंग खेल्नेछ ।
साफ च्याम्पियनसिपअन्तर्गत भोलि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तानबीच हुनेछ । दोस्रो खेल बंगलादेश र माल्दिभ्सबीच हुनेछ । उक्त खेल ५:३० बजे हुनेछ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू