मंगलबार, चैत ६, २०८०
03:27 | ०९:१२

बेलायतमा फाइनान्सियल फर्म खोल्ने पहिलो नेपाली चेली अनिता, शुरु गरिन् सेवा मोर्गेजेज्

नेपाली लिङ्क सेप्टेम्बर १, २०२२

लन्डन—बेलायतमा मोर्गेज, प्रपर्टीलगायतका सेवासहित फाइनान्सियल सर्भिस सञ्चालन गर्ने नेपालीहरु अहिले धेरै पुगिसकेका छन्। जसमध्ये अधिकांशले गतिलो व्यापार पनि गर्दै आएका छन्। 

यसैबीच, बेलायतमा पहिलोपटक एक नेपाली चेलीले पनि फाइनान्सियल फर्म स्थापना गरेकी छन्।

बेलायतको विन्चेस्टर केन्द्र रहने गरी अनिता पुर्जाले सेवा मोर्गेजेज शुभारम्भ गरेकी हुन्। बेलायतमा नेपाली महिलाकै नेतृत्वमा स्थापना भएको सम्भवतः पहिलो फाइनन्सियल फर्म हो सेवा मोर्गेजेज। 

अनिताले सेवा मोर्गेजेजमार्फत बेलायतभरका सेवाग्राहीलाई सम्पूर्ण फाइनासियल सेवा प्रदान गर्ने लक्ष्य लिएकी छन्। मोर्गेज, प्रोटेक्सन, होम इन्सुरेन्स, विल्स, कन्भेन्सिंगलगायत सेवा आफ्नो फर्मबाट उपलब्ध गराएको उनले जानकारी दिइन्। 

सेवा मोर्गेजेजकी संस्थापक अनिताले ‘सर्टिफिकेट इन मोर्गेज एड्भाइस एण्ड प्राक्टिस’ (सिम्याप) योग्यता हासिल गरेकी छन्। शुरुमा केहि वर्ष अन्य फर्महरुमा कार्य अनुभव बटुलेपछि उनले आफ्नै लगानीमा व्यवसाय स्थापना गरेकी हुन्।

‘सेवा मोर्गेजेज बेलायतस्थित अन्य नेपाली दिदीबहिनीका लागि पनि उत्प्रेरक बनोस् भन्ने मेरो चाहना छ। महिलाहरु पनि सक्षम छन्, सबल छन् र जुनसुकै क्षेत्र वा व्यवसायमा उनीहरु पनि नेतृत्व गर्न सक्छन् र अघि बढ्न सक्छन् भन्ने सन्देश म दिन चाहन्छु’, अनिताले भनिन्।

आफ्नो व्यवसायिक विकास मात्र नभइ समुदायमा महिला सशक्तिकरणको नमुना देखाउनु पनि उनको आकांक्षा हो।  

वीन्चेस्टरमा मुख्य कार्यालय रहेपनि सेवा मोर्गेजेजले बेलायतभरका सेवाग्राहीलाई सेवा उपलब्ध गराइएको जनाएको छ । सेवाग्राहीको सुविधाका लागि अहिले नै साताका सातै दिने सेवा खुला राखिएको छ । 

‘हाम्रो सेवा हरेक दिन बिहान ९ देखि बेलुकी ८ बजेसम्म खुला छ’, अनिताले भनिन्, ‘बेलायतको व्यस्त दैनिकीबीच पनि सबै सेवाग्राहीलाई सहज होस् भनेर अतिरिक्त समय र वीकेन्ड पनि हामीले सेवा उपलब्ध गराएका छौं।’

सेवाग्राहीको सुविधाका लागि हरेक सेवा अनलाइन र टेलिफोन माध्यमबाटै प्रदान गरिने उनले जनाइन्।

सेवा मोर्गेजेजले कम्पनी शुभारम्भको अवसरमा अहिलेलाई सेवा शुल्कमा ४० प्रतिशत छुटको अफर पनि उपलब्ध गराएको छ। 

सेवा शुभारम्भकै पहिलो महिना बित्न नपाउँदै यतिबेला अनिता आफ्नो टीम बिस्तारमा जुटेकी छन्। कार्यालय एड्मिन र केही एड्भाइजरहरु नियुक्ति अहिले प्रक्रियामा रहेको उनले बताइन्। 

सेवा मोर्गेजेजलाई सुरुवाती चरणमै प्राप्त प्रतिक्रियाहरुबाट अनितालाई थप हौसला मिलेको छ। ‘आफ्नै छोरी-चेलीले नयाँ काम गर्ने हिम्मत गरेकी भनेर धेरैले हौसला दिनुभएको छ। जसले मलाई मेरो लक्ष्यप्रति झन् प्रतिबद्ध र उत्साहित बनाएको छ’, उनले सुनाइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू