मंगलबार, वैशाख ११, २०८१
17:04 | २१:४९

प्रथम एनआरएनए राष्ट्रिय करांते प्रतियोगिता भदौ २४ र २५ मा

नेपाली लिङ्क अगस्ट १७, २०२२

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी खेलकुद प्रतिष्ठानको आयोजनामा नेपालमा पहिलोपटक राष्ट्रिय स्तरको करांते प्रतियोगिता हुने भएको छ।  

प्रतिष्ठानले बुधबार काठमाडौँमा एक पत्रकार सम्मेलन गरी यही भदौ २४ र २५ गते राजधानीमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो।  

कराते खेलको विकास, विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता वृद्धि गरी खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न र उदयमान कराँते खेलाडी उत्पादन गर्दै वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।

सातदोबाटोस्थित करांते हलमा सञ्चालन हुने दुई दिने प्रतियोगितामा पुरुष तर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी ८४ केजी र ८४ केजीभन्दामाथि तौल समूह तथा महिलातर्फ ४५ केजी, ५० केजी, ५३ केजी, ६१ केजी, ६८ केजी र ६८ केजीभन्दामाथि तौल समूहमा एकल कांता, टिम कांता र टिम कुमुतेमा प्रतिष्पर्धा हुनेछ।

नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतको सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा सात वटा प्रदेश, विभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनएसहित ११ टिमका करिब ३ सय १० खेलाडीहरुले भाग लिनेछन्।  

प्रतियोगितामा प्रत्येक वजन समूहमा प्रथम हुने खेलाडीलाई १५  हजार, द्वितीयलाई १० हजार र तृतीय हुने २ जना खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कारको साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिनेछ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न कमिटी गठन गरिएका छन्। जसमध्ये मूल आयोजक कमिटीमा हिमाल गुरुङ, रोशन थापा र राज रेग्मी तथा सचिवालयमा धर्मराज गिरी छन्  भने व्यवस्थापनमा बेलायतका जीवन सेन छन्। 

प्राविधिक र प्रचार प्रसारमा स्वयम्भुराज डंगोल, प्रतियोगिता संयोजकमा रवि शाही, समारोह तथा खेल व्यवस्थापनमा राजन खत्री, सुरक्षामा प्रविणकाजी श्रेष्ठ, खाना तथा बसोवासमा सुर्य गिरी, स्वास्थ्यमा राजेश श्रेष्ठ र आर्थिक संयोजकमा राजु सिंह रहेका छन्। 

प्रतियोगिताको अनुमानित बजेट रकम ४१ लाख रुपैयाँ रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारीसहित सचिवालय सदस्यहरु, प्रायोजक बैंकका प्रतिनिधि र ५५ जना खेल पत्रकारहरूको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू