शनिबार, जेठ ५, २०८१
05:30 | १०:१५

यूकेको प्रधानमन्त्री रेस: फाइनल राउन्डको यात्रा सुनाकलाई सहज, अन्य दुईबीच टक्कर

नेपाली लिङ्क जुलाइ १९, २०२२

फाइनल राउन्डको लागि ॠषि सुनाक लगभग सुरक्षित देखिएपनि पेनी मोर्डन्ट र लिज ट्रसबीच कडा टक्कर देखिएको छ।

लन्डन। बेलायतको नयाँ प्रधानमन्त्री बन्ने सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेता चयनका लागि जारी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ।

पार्टीका सांसदहरुद्वारा मंगलबार चौंथो चरणमा गरिएको मतदानपछि यो रेसमा मात्र तीन उम्मेद्वार बाँकी छन्। बुधबार अपरान्ह हुने पांचौं चरणको मतदानबाट अहिले अन्तिम तीनमा परेका ॠषि सुनाक, पेनी मोर्डन्ट र लिज ट्रसमध्ये दुई जना अन्तिम प्रतिस्पर्धाका लागि चुनिनेछन्।

देशभरका पार्टी सदस्यहरुको मतदानद्वारा उनीहरुमध्ये एक जनाले पार्टीको नेता एवम् देशको प्रधानमन्त्री बन्ने अवसर पाउनेछन्।जसको घोषणा आगामी सेप्टेम्बर ५ मा हुनेछ।  

अन्तिम तीनमा आइपुग्ने क्रममा ॠषि सुनाकले १ सय १८, पेनी मोर्डन्टले ९२ र लिज ट्रसले ८६ मत पाएका छन्। अघिल्लो चरणको तुलनामा सुनाकले ३, मोर्डन्टले १० र र ट्रसले  १५ मत बढी पाएका छन्। 

बुधबार हुने मतदानमा मंगलबार प्राप्त मतलाई कायम गर्न सके मात्रै पनि ॠषि सुनाक फाइनल राउन्डको लागि लगभग सुरक्षित देखिन्छन्।दोस्रो स्थानको लागि भने मोर्डन्ट र ट्रसबीच कडा टक्कर हुने देखिएको छ।  

मंगलबार सम्पन्न चौंथो राउन्डको मतदानबाट बाहिरिएकी केमी ब्याडनकले प्राप्त गरेको ५९ मतलाई आकर्षण गर्न सक्नेले नै दोस्रो स्थान पक्का गर्नेछ। 

त्यसैले मंगलबारका आफ्ना मत बुधबार पनि कायम रहेको अवस्थामा केमी ब्याडनकले पाएका ५९ मत अब मोर्डन्ट र ट्रसको टक्करमा निर्णायक देखिएका छन्। मोर्डन्टभन्दा ६ मतले पछि परेकी ट्रसलाई उनले भन्दा कम्तीमा ७ मत बढी आकर्षित गर्नैपर्ने दबाब छ।  

मंगलबार आउट भएकी केमी ब्याडनकले अबको प्रतिस्पर्धामा कुनै एक उम्मेद्वारलाई समर्थन गर्छिन् वा गर्दिनन् र गरिन् भने कसलाई गर्छिन् भन्ने कुराले पनि बुधबारको नतिजा प्रभावित गर्न सक्ने देखिन्छ। तर यसअघिका राउन्डबाट बाहिरिने उम्मेद्वारहरुले पाएका मत पनि अर्को राउन्डमा पूरै विभाजित देखिएका कारण उनका मतहरु एकै जनालाई जाने सम्भावना पनि कम छ।

फाइनल राउन्डको प्रतिस्पर्धामा ॠषि सुनाकको लागि अहिले दोस्रो स्थानमा रहेकी मोर्डन्टभन्दा तेस्रो स्थानमा रहेकी ट्रससँगको भिडन्त बढी सहज हुने विश्लेषण गरिएको छ। 

तुलनात्मक रुपमा मोर्डन्ट कञ्जरभेटिभ पार्टीका सदस्यहरुबीच बढी लोकप्रिय रहेको ठानिएको छ।त्यस्तै, अधिकांश पार्टी सदस्य ब्रेक्जिट पक्षधर हुने भएकाले विगतमा ब्रेक्जिटको विपक्षमा रहेकी ट्रस केही कमजोर बन्न सक्ने आंकलन छ।

यो पनि पढौं: बेलायती प्रधानमन्त्री बन्ने प्रतिस्पर्धाको अन्तिम तीनमा ऋषि, पेनी र लिज

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू