शनिबार, जेठ ५, २०८१
04:55 | ०९:४०

बेलायती प्रधानमन्त्री बन्ने प्रतिस्पर्धाको अन्तिम तीनमा ऋषि, पेनी र लिज

नेपाली लिङ्क जुलाइ १९, २०२२

फाइल तस्विर: बांयाबाट लिज ट्रस, ऋषि सुनाक र पेनी मोर्डन्ट।

लन्डन। बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेता निर्वाचनका लागि भइरहेको प्रतिस्पर्धामा अन्तिम तीन प्रतिस्पर्धी चुनिएका छन्।  

कञ्जरभेटिभ पार्टीका सांसदहरुद्वारा मंगलबार गरिएको चौंथो चरणको मतदानबाट ऋषि सुनाक, पेनी मोर्डन्ट र लिज ट्रसले अन्तिम तीनमा स्थान सुरक्षित गरेका हुन्। यो चरणमा सबैभन्दा कम मत प्राप्त गर्ने केमी ब्याडनक भने प्रतिस्पर्धाबाट बाहिरिएकी छन् ।  

मंगलबार चौंथो चरणको मतदानमा पनि निवर्तमान अर्थमन्त्रीसमेत रहेका भारतीय मूलका ऋषि सुनाकले १ सय १८ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन्। दोस्रो स्थानमा पेनी मोर्डन्टले ९२ र तेस्रो स्थानमा लिज ट्रसले ८६ मत पाएका छन् । प्रतिस्पर्धाबाट बाहिरिएकी केमी ब्याडनकले  ५९ मत प्राप्त गरेकी छन् ।  

सोमबार सम्पन्न तेस्रो चरणको मतदानको तुलनामा मंगलबार चौंथो चरणमा सुनाकले ३, मोर्डन्टले १० र र ट्रसले  १५ मत बढाएका छन् ।  

बुधबार हुने पांचौं चरणको मतदानमा सबैभन्दा थोरै मत ल्याउने अर्को उम्मेद्वार पनि बाहिरिएपछि प्रतिस्पर्धामा अन्तिम दुई बाँकी रहनेछन्। त्यसपछि देशभरका पार्टी सदस्यको मतका आधारमा विजयी हुनेले पार्टीको नेता हुँदै बेलायतको प्रधानमन्त्री बन्ने अवसर पाउनेछ।

नेता चयन प्रक्रिया पूरा भएसंगै आगामी सेप्टेम्बर ५ मा बेलायतले नयाँ प्रधानमन्त्री पाउनेछ।

यो पनि पढौं: यूकेको प्रधानमन्त्री रेस: फाइनल राउन्डको यात्रा सुनाकलाई सहज, अन्य दुईबीच कडा टक्कर

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू