बिहीबार, चैत १५, २०८०
17:56 | २३:४१

नागरिकता विधेयक अघि बढाउन सांसदको माग

रासस जुन २६, २०२२

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले संसद्मा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने सम्पूर्ण सेवाबाट नागरिक वञ्चित भएको भन्दै उनीहरुलाई राज्यको नागरिक भएको आभास दिलाउन विधेयकको किनारा लगाउनुपर्नेमा जोड दिए ।

सांसद इन्दुकुमारी शर्माले संसद्मा लामो समयदेखि विचाराधीन रहेको नेपाल नागरिकता ऐनसम्बन्धी विधेयक पारित नहुँदा राज्यले दिने शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण सुविधाबाट बञ्चित भएको भन्दै छिटोभन्दा छिटो पारित गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उनले संविधान राज्य सञ्चालन गर्ने मूल कानून भएको र यसले सुनिश्चित गरेको नागरिकता प्राप्त गर्ने जन्मसिद्ध अधिकारको सुनिश्चितताका लागि नागरिकता विधेयक टुंगो लगाइनुपर्नेमा जोड दिइन् ।

उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गर्न माग

सांसद अमृता थापाले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन गरी संघीय संसद्लाई चाँडो पूर्णता दिन माग गरिन् ।

उनले नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको महिला अधिकार कार्यान्वयन हुन नसक्दा नेतृत्व निर्माणमा गम्भीर असर पुगेको बताइन् ।

प्रतिनिधिसभाको उपसभामुख पद विसं २०७६ माघ ६ गतेदेखि रिक्त छ भने २०७८ फागुन २० देखि राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ ।

सांसद कलिला खातुनले पेट्रोल र डिजेटको मूल्य घटाएकामा सरकारलाई धन्यवाद दिँदै काठमाडौँका कतिपय स्थानमा हैजा फैलिएको भनी आएको विषयमा नियन्त्रणका लागि पहल गर्न आग्रह गरिन् ।

सांसद कुमारी मेचेले आफ्नो क्षेत्रमा बजेट माग्दा पनि नपाएको गुनासो गर्दै झापाको चाराली खानेपानीको व्यवस्थापन, बालबालिकाले विद्यालयमा पुस्तक नपाएकोलगायत विषयमा सरकारले ध्यान दिनुपर्ने खाँचो औँल्याइन् ।

सांसद आशाकुमारी विकले कात्तिक ३० गते आएको वर्षाले बझाङका एक हजार १०० परिवार विस्थापित भएका र पीडितले अझै पूर्णरुपमा राहत नपाएको भन्दै मनसुन सुरु भएकाले विपद् व्यवस्थापनका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद कृष्णगोपाल श्रेष्ठले २०७९ जेठ १४ गते अर्थ मन्त्रालयमा बजेट निर्माणको समयमा अनाधिकृत व्यक्ति सहभागी भएको फुटेज सार्वजनिक गर्न माग गरे ।

सांसद कृष्णबहादुर राईले काठमाडौँ क्षेत्र नं ३ स्थित गोकर्णेश्वर क्षेत्रमा मेलम्चीको खानेपानी पाइपलाइन विस्तार गर्न ढिलाइ भएको साथै जोरपाटी, नयाँपार्टी, सुन्दरीजल, गोकर्ण, बौद्धलगायत क्षेत्रमा पाइपलाइन विस्तार नभएकाले चाँडो सम्पन्न गर्न आग्रह गरे ।

उनले गुह्येश्वरीदेखि गोकर्णेश्वरसम्मको वाग्मती करिडोरको बाटो चाँडो कालोपत्र गर्न सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराए ।

सांसद कृष्णभक्त पोखरेलले विपद् व्यवस्थापनका लागि भइरहेको पूर्वतयारीबारे सरकारले गरिरहेको तयारीको संसद्मा जानकारी गराउन र अनुगमनमा सामेल गराउन माग गरे । उनले नारायणगढ–मुग्लिन सडकखण्डको दीर्घकालीन समाधान खोज्न आग्रह गरे ।

सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशको महाअभियोगको प्रस्ताव आजै समितिमा लैजान आग्रह गरे । उनले पोखराको हेम्जालगायतका स्थानमा भारी वर्षापछि आएको बाढीबाट पीडित जनताको उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरे ।

सांसद खेमप्रसाद लोहोनीले पेट्रोलियम पदार्थको अस्वभाविक मूल्यवृद्धिले सम्पूर्ण उपभोग्य वस्तुको मूल्य बढेकाले जनतालाई समस्या परेको भन्दै यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद गणेशसिंह ठगुन्नाले दैनिक उपभोग्य वस्तुको महँगीले सर्वसाधारणलाई मर्का परेको भन्दै उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसमक्ष माग गरे ।

सांसद गंगा चौधरीले बलात्कार मुद्दालाई कमजोर बनाउन जिम्मेवार निकायबाट भएको कदमको भत्र्सना गर्दै त्यस कार्यमा संलग्नलाई कारबाहीको माग गरिन् ।

सांसद घनश्याम खतिवडाले अत्यधिक वर्षाले देशभर बाढीपहिरो, डुबानका घटना बढिरहेकाले त्यसको मारमा जनता परेका र महंगी बढेको तथा शेयरबजार घटिरहेको विषयमा सरकारको व्यवस्थापकीय तयारी के छ भनी प्रश्न गरेका थिए ।

सांसद जिवछिरिङ लामाले शून्य समयमा उठेका सवालको कार्यान्वयन हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद झपटबहादुर रावलले करिब ३० वर्षअघि निर्माण गरिएको सुदूरपश्चिमको कैलालीस्थित सिंगल टावर केवलस्टेट मोटर पुल मर्मतसम्भार गरी रात्रिकालीन बत्ती व्यवस्थापन गर्न माग गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू