शनिबार, जेठ ५, २०८१
11:17 | १६:०२

विदेशका नेपालीलाई मतदान अधिकारको माग   

'विदेशमा बस्ने नेपालीको नोटमात्र होइन भोट पनि चल्नुपर्छ'

रासस जुन २१, २०२२

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत विदेशमा बसेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्नेबारे निर्णय भइसकेको भन्दै निर्वाचन आयोगले उक्त कार्यको लागि आवश्यक पर्ने ऐन, कानुन निर्माणमा अग्रसरताका लागि विभिन्न राजनीतिक दल र सरकारसँग सहयोगमा अगाडि बढ्न आग्रह गरिएको महामन्त्री शर्माले जानकारी दिए ।

“विदेशमा रहेका ४० लाख नेपालीको नोटमात्र नभएर भोट पनि प्रयोगमा ल्याउनका लागि हामीहरुले पार्टीका तर्फबाट निर्वाचन आयोगको ध्यानाकर्षण गरेका हौँ”, महामन्त्री शर्माले भने ।

निर्वाचन आयोगले असार १ गतेदेखि देशैभरि मतदाता नामावली संकलन कार्य अगाडि बढाएकाले मतदाता संकलनको क्रममा देखिएको भीडलाई कम गरी सबै स्थानीय तहमा मतदाता नामावली संकलन केन्द्र स्थापना गर्न माग गरेको अर्का महामन्त्री थापाले बताए ।

“काठमाडौँमा रहेका देशभरका मतदाताको नामावली संकलन काठमाडौँबाट गर्न मिल्ने व्यवस्था भएको छ, यो राम्रो कार्य हो, काठमाडौँमा भएको भीडभाडलाई कम गर्न काठमाडौँको अलग्गै र काठमाडौँ बाहिरका व्यक्तिको अलग्गै नामावली संकलन गर्ने वातावरण निर्माण गर्न हामीले प्रमुख निर्वाचन आयुक्तसमक्ष अनुरोध गरेका छौँ”, महामन्त्री थापाले भने ।

यस्तै, भेटमा निर्वाचनलाई कसरी स्वच्छ, पारदर्शी, मितव्यायी र कम खर्चिलो बनाउने भन्ने बारेमा समेत छलफल भएको महामन्त्रीद्वयले बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा मङगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर- अच्युत रेग्मी/रासस

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू