शनिबार, जेठ ५, २०८१
13:00 | १७:४५

नेपालमा अमेरिकी सैन्य गतिविधिबारे संसदमा चर्को वहस, सेनाको खण्डन

रासस जुन १५, २०२२

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न लागेको भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा विशेष समय लिएर पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै यसबारेमा सदनलाई स्पष्ट पार्न माग गरे ।

उनले सन् २०१५ मा भएको पत्राचारपछि सो सम्झौताको मस्यौदा तत्कालीन सरकारले गहिरो अध्ययनविना प्रक्रिया अघि नबढाएको स्मरण पनि गरे । साथै नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने बताए ।

नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कार्य नगर्न उनले आग्रह गरे ।

एसपीपीबारे नेपाली सेनाको ध्यानाकर्षण

नेपाली सेनाले हाल विभिन्न सञ्चारमाध्यममा चर्चामा आएको अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी समाचारहरूमा ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको स्पष्ट पारेको छ ।

“नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगतलाई जानकारी गराइन्छ”, सेनाले आज जारी गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

सहमति बिना कुनै पनि सम्झौता हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उहाँले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भने पनि आफूले नमान्ने स्पष्ट पारे ।

शीर्ष नेताबीचको छलफलबारे जानकारी दिँदै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमति नभई प्रधानमन्त्री देउवाले कुनै पनि सम्झौता गर्न नहुने बताएको जानकारी दिए ।

संयुक्त राज्य अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) बारे सार्वजनिक बहस चलिरहेका बेला प्रधानमन्त्री देउवाले सो प्रतिवद्धता जनाएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्षनेताहरुबीच भएको भेटमा संसदमा जारी बजेटसम्बन्धी छलफल तथा बजेट पारित गर्ने लगायतका विषयमा छलफल भएको अध्यक्ष यादवले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू