शनिबार, जेठ ५, २०८१
13:00 | १७:४५

एमाले सचिवालय बैठकको निष्कर्षः अन्तर्घातले हार

रासस जुन १३, २०२२

तस्बिर रासस

काठमाडौं – नेकपा (एमाले) सचिवालयको नवौँ बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको ठहर गर्दै त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको बैठकबारे जानकारी दिँदै एमालेका उपमहासचिव 
प्रदीपकुमार ज्ञवालीले निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलो भएकाले निर्वाचनमा भाग लिएपछि त्यसको परिणाम स्वीकारिने बताए ।

उनले ३४ प्रतिशत लोकप्रिय मतसहित एमाले ठूलो दलका रुपमा अगाडि आएको तथ्य स्थापित भएको जनाउँदै स्थानीय तहका प्रमुख र अध्यक्षहरूमा एमालेले पाएको मत सन्तोषजनक नरहनुमा सत्ता गठबन्धन र एमालेको आन्तरिक कारण रहेको विषयमा बैठकमा छलफल भएको बताए ।

उनले समयमा उम्मेदवार चयन, आकांक्षीहरूको सही व्यवस्थापन र निर्वाचन परिचनामा कुशलता हसिल नभएका आन्तरिक कारण तथा केही ठाउँमा घात अन्तर्घात भएकाले प्रमाणित भएका अन्तर्घातमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र आगामी अभिभारामा केन्द्रित हुने तय भएको जानकारी दिए ।

नेता ज्ञवालीले निर्वाचनमा पार्टीको स्थानबारे आन्तरिक समीक्षा गर्नुका साटो पार्टीका कुनै पनि नेताले पार्टी प्रतिष्ठा र मूल नेतृत्वलाई अनावश्यक लाञ्छना लगाउने कार्यमा संलग्न हुनु नहुने स्पष्ट पारे । उपमहासचिव ज्ञवालीले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डतामा आँच आउन नदिन राष्ट्रियताको पहरेदारी गर्ने विषयमा पनि बैठकमा छलफल भएको बताए ।

सचिवालय बैठकले आउँदो असार २ र ३ गते काठमाडौँमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख, अध्यक्षसहित जनप्रतिनिधिलाई स्थानीय तहका अधिकार क्षेत्र, नीति कार्यक्रम तर्जुमा गर्दा समृद्ध नेपाल र समृद्ध नेपालको आधार निर्माण, जनप्रतिनिधि र जनताको सम्बन्ध आदिबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलसहितले प्रशिक्षण दिने कार्यक्रम पनि तय गरेको छ ।

यस्तै बैठकले केही विभागहरुको गठन र पूर्णता दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू