आइतबार, जेठ ६, २०८१
19:17 | ००:०२

सैनिक मञ्च टुँडिखेलमा १५ औं गणतन्त्र दिवस (फोटो फिचर)

रासस मे २९, २०२२

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुँदै । तस्बिर- रासस

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
१५ औं गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा दिवसको मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको र आम जनताबाट चुनिएका जनप्रतिनिधिहरुबाट मुलुकको शासन प्रणाली सञ्चालित भइरहेको बताए ।
उनले भने  “जन चाहनानुसार नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रो निर्वाचनबाट मुलुकमा प्रतिस्पर्धात्मक, बहुदलीय, लोकतान्त्रिक एवं गणतन्त्रात्मक शासन व्यवस्था मजबुत भएको छ ।”
प्रधानमन्त्री देउवाले मुलुकले २००७ सालको राजनीतिक क्रान्ति र विभिन्न आन्दोलनको बलमा राजनीतिकरुपमा ठूलो फड्को मारेको, संघीय शासन प्रणालीसहितको गणतन्त्रात्मक व्यवस्था अंगीकार गरेको र नेपालीहरु स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका नागरिक भएको उल्लेख गर्दै नेपाललाई एक समुन्नत र समृद्ध मुलुकका रुपमा अघि बढाउनुपर्ने दायित्वलाई सबै मिलेर पूरा गर्नुपर्ने खाँचो औँल्याए ।
“समृद्ध मुलुक निर्माणका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुनु जरुरी छ । लोकतन्त्रमा राजनीतिक दलका फरक धारणा र विचारहरु हुनु स्वभाविक हो तापनि महत्वपूर्ण राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकको विकासको पथमा अघि बढाउन र राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिन्छ ।”
प्रधानमन्त्री देउवाले भने, “हामीले जुन अपेक्षा र उद्देश्यका साथ लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना गरेका थियौँ, व्यवहारमा त्यो लागू भएको छ । नागरिक हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै मुलुकलाई आर्थिक सामाजिकरुपमा सबल र सम्मुनत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले अपेक्षित परिणाम दिन थालिसकेको छ । मुलुकको आर्थिक सामाजिक रुपान्तरणको अभियानमा हामी सबैको योगदान उत्तिकै आवश्यक छ ।”
प्रधानमन्त्री देउवाले जनताका प्रतिनिधिले लेखेको संविधान जारी भई संविधानअनुसार शासन प्रणालीमा समावेशीता र समानुपातिक प्रतिनिधित्वका आधारमा सबै जनताको अर्थपूर्ण सहभागिता, स्वामित्व र अपनत्व स्थापित भएकाले नागरिकहरु बिनाकुनै बन्देज राजनीतिक, आर्थिक र सामाजिक क्रियाकलापमा स्वतन्त्ररुपमा सहभागी हुने अवसर पाएको बताए ।
उनले बिनाभेदभाव सबै नागरिकलाई समान हक, अवसर र हैसियत प्रदान गर्ने यस बहुदलीय प्रतिस्पर्धामा आधारित शासन व्यवस्था संसारकै उत्तम शासन व्यवस्थामध्ये भएकाले यस शासन प्रणालीको स्थापनापछि मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रा अघि बढेको बताए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट पदाधिकारी र अधिकारीको उपस्थिति थियो ।

गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा तीनवटै सुरक्षाकर्मीद्वारा व्याण्ड बाजासहित मार्चपास गर्दै । तस्बिर- रासस

आइतबार टुँडिखेलमा आयोजित समारोहमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी) मार्चपास गर्दै । तस्बिर- रासस

गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र लेखिएको बाईनरसहित पुष्प वृष्टि गर्दै । तस्बिर- रासस

तीनवटै सुरक्षाकर्मी ब्याण्ड बाजासहित मार्चपास गर्दै

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू