शनिबार, जेठ ५, २०८१
18:33 | २३:१८

काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु: नवनिर्वाचित प्रमुख साह

रासस मे २७, २०२२

काठमाडौँ-काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताएका छन् ।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख साहले नागरिकको आशाअनुरुप सहरको मुहार फेर्ने बताए । ‘आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु’, उनले भने । 

बिहान ९ बजे काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै उनी आफ्नो समर्थकसँग विजय रयालीसहित सहर परिक्रमामा निस्किएका छन् । 

सभागृहबाट सुरु भएको रयाली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुने हुंदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा, खुलामञ्च पुगेर धन्यवादसभामा परिणत हुनेछ । 

बालेनलाई ६१ हजार ७६७ मत 

रयापर बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू