शनिबार, जेठ ५, २०८१
18:33 | २३:१८

नेपालमा हवाई भाडा बढ्यो

रासस मे २३, २०२२

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पार्किङ गरिराखिएका नेपाल बायुसेवा निगमका जहाज । तस्वीर- विमलबहादुर विष्ट, रासस

काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ ।

नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ ।

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ–धनगढीको भाडा रु ४४५ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौँ–सिमराको भाडा रु तीन हजार ७२५ कायम भएको छ भने काठमाडौँ–धनगढी रु १५ हजार ६६५ कायम भएको छ ।

काठमाडौँ–भद्रपुर ११ हजार ९३५, काठमाडौँ–विराटनगर नौ हजार ३२५, काठमाडौँ–जनकपुर पाँच हजार २५०, काठमाडौँ–भरतपुर चार हजार ४३५ र काठमाडौँ–पोखरा छ हजार ३०५ कायम भएको छ । काठमाडौँ–भैरहवा सात हजार ८८०, काठमाडौँ–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौँ–तुम्लिङटार सात हजार ४६० कायम भएको छ ।

माउन्टेन फ्लाइटको भाडादर रु १३ हजार ७६५ कायम भएको संघले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १६६ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू