शनिबार, वैशाख ८, २०८१
10:15 | १५:००

अपेक्षाकृत मत खसेन, १८ पालिकाका ४४ केन्द्रमा स्थगन

रासस मे १३, २०२२

स्थानीय तह निर्वाचनमा मतदानका लागि पोखरा महानगरपालिका वडा नं १४ मझेरीपाटनस्थित रामेश्वरी माध्यमिक विद्यालयमा लामबद्ध सर्वसाधारण । तस्वीर- राधिका कँडेल, रासस

काठमाडौँ, ३० वैशाख – स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने अपेक्षा गरेको थियो । मतभार धेरै भएका काठमाडौँ महानगरपालिकालगायत तराई मधेसका कतिपय स्थानीय तहमा तुलनात्मकरूपमा कम मत खसेपछि कूल प्रतिशत बढ्न नसकेको हो । आयोगका अनुसार बढीमा ७५ प्रतिशत र कममा ५० प्रशितसम्म मत खसेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले अपेक्षा गरेभन्दा कम मत खसे पनि समग्रमा मतदान उत्साहजनक रहेको बताउँदै समग्र विश्लेषण भने आजै गर्न नमिल्ने बताए ।

आयोगले खडा गरेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र र निर्वाचन पर्यवेक्षण समिति (नियोक) को कल सेन्टरबाट निर्वाचनको अनुगमन गरेको थियो । आयोगबाट स्वीकृतिप्राप्त ६८ संस्थाका करिब ५० हजार पर्यवेक्षकले पठाएका प्रारम्भिक प्रतिवेदन पनि आयोगमा आउने क्रम जारी छ ।

साँझ छ बजेसम्मको विवरण अुनसार १८ वटा स्थानीय तहको ४४ मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगन भएको छ । स्थगन भएका स्थानमा नयाँ निर्वाचन मिति चाँडै घोषणा गरिने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाले एकै चरणमा निर्वाचन गर्नुपरेका कारण सुरक्षा प्रबन्ध पर्याप्त नभएको हो कि भन्ने देखिएको र राजनीतिक दल र उम्मेदवारले सानातिना विषयमा पनि विवाद झिकेर लोकतान्त्रिक उच्च संस्कार प्रदर्शनमा कमजोरी दर्शाएकाले ती स्थानमा स्थगन हुने स्थिति देखिएको उनले बताए ।

उनले कतिपय तहमा जसरी पनि जित्पुपर्छ र राज गर्न पाउनुपर्छ भन्ने सोच भएका दल र कार्यकर्ताका कारण स्थिति तनावग्रस्त भएको र मतदातालाई दुःख दिने कार्य भएकामा चिन्ता व्यक्त गर्दै भने, “यो लोकतन्त्रका लागि चुनौतीपूर्ण कुरा हो । यसमा सम्बन्धित दल, उम्मेदवार र कार्यकर्ता गम्भीर हुनैपर्छ । गल्ती गर्नेलाई कानूनबमोजिम कारबाही हुन्छ । अन्यथा त्यस्ता स्थानमा जति पटक निर्वाचन गरे पनि यस्ता समस्या देखा पर्न सक्छन् ।”

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको थियो । निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भई सकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरुसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवकहरु आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्बाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिएर सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको थियो ।

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताए । उनले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल खसेको मत यकिन सङ्ख्या र प्रतिशत प्राप्त भइनसकेको स्पष्ट पारे ।

वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको र खटिएका सुरक्षाकर्मी र कर्मचारीबाट आयोगलाई यथेष्ट सहयोग मिलेको बताउँदै प्रवक्ता शर्माले सबैलाई धन्यवाद दिए । एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफलपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिए ।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू