शुक्रबार, चैत १६, २०८०
05:38 | ११:२३

स्वर्ण विजेता खेलाडी सन्जु मृत अवस्थामा भेटिइन्

रासस मे १०, २०२२

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिएकी छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताए । उनका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो ।

प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताए । उनले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिए ।

खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आएका थिए ।

१९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट भएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ आएकी थिइन् ।

बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको १३ औं सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । उनले श्रीलंकाका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू