मंगलबार, जेठ ३, २०७९
19:54 | ००:३९

एकदिवसीय क्रिकेट सिरिजमा नेपालको जित   

रासस मे ९, २०२२

फाइल फोटो

काठमाडौँ-जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । नेपालले उक्त सिरिज २–१ ले जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ तीन विकेटले विजयी भएको थियो ।

दोस्रो खेलमा नेपालले ९ विकेटले जीत हासिल गरेको थियो । आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । जिम्बावेले ब्याटिङ गर्दै सवै विकेट गुमाएर नेपाललाई २१४ रनको लक्ष्य दिएको थियो । नेपालले ३० दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरयो ।

नेपालको जीतमा कुशल भुर्तेलले सर्वाधिक ८४ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले अविजित ६०, आसिफ शेखले २९ तथा विनोद भण्डारीले २८ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्रान्डन माभुताले तीन र ब्राड इभान्सले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो । जिम्बावेका लागि टाडिवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए । यस्तै कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वीले १९ रन बनाए ।

बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए । सोमपाल कामीले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए । यसअघि नेपाल र जिम्बावे ‘ए’बीच तीन टी–ट्वान्टी सिरिज सम्पन्न भएको थियो ।

उक्त सिरिजमा दुवैले १–१ को बराबरी खेलेका थिए । एउटा खेल वर्षाका कारण रद्द भएको थियो । आइसिसी क्रिकेट लिग दुईअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि नपालले जिम्बावे ‘ए’सँग खेलेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू