सोमबार, जेठ २, २०७९
19:09 | २३:५४

टुँडिखेलमा सेना दिवसको रौनक (तस्विरहरु)

रासस मार्च १, २०२२

तस्विर: रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाकी परमाधिपति छन् ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित वार्षिक पत्रिकाका ‘सिपाही–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाली आर्मी’ पुस्तक विमोचनका साथै ‘फ्री फल जम्प’मा प्रथम हुने अमल्दार वसन्तकुमार चन्द र द्वितीय हुने सुवेदार किसान पौडेललाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिन् ।

सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत राइफलद्वारा पाटा–पाटा लहरे र एकट्ठा प्रस्तुत गरियो ।

सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । त्यस क्रममा स्वस्तिक चिह्न, शिव वन्दना र राष्ट्रभक्ति भावको गीत सङ्गीतसमेत प्रस्तुत भयो । सैनिक मञ्चमा मास पिटीका साथै तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । समारोहमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत गरियो ।

उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन, हेलिकप्टर प्रदर्शनी, सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्ले गरियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भयो । समारोहमा बेलायती गोर्खा ब्रिगेडको एक टुकडीले ब्यान्ड डिस्प्ले प्रस्तुत गरयो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम–मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित थिए ।

यसैगरी मन्त्रिगण, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए ।

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुरयाएका महानुभावलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरे । समारोहको प्रारम्भमा प्रधानसेनापति शर्माले तारादल गणलाई ब्यानर प्रदान गर्नाका साथै उत्कृष्ट कार्य गर्ने अन्य विभिन्न गणलाई पुरस्कार एवं निशान चिह्न प्रदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू