शनिबार, वैशाख ८, २०८१
04:52 | ०९:३७

इनास यूकेद्वारा दुई दर्जन कलाकारलाई स्वागत

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२२

लन्डन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को यूके शाखाले बेलायतस्थित दुई दर्जन नेपाली कलाकारलाई स्वागत गरेको छ ।

आइतबार साउथ इष्ट लन्डनको वुल्वीचस्थित माया दिदी रेष्टुरेन्टमा एक कार्यक्रम गरी उनीहरुलाई संस्थामा स्वागत गरिएको हो ।

इनास यूकेका अध्यक्ष विनोद चिपालुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलयतमा रहेर नेपाली कलाकारितामा सक्रिय रहेका कलाकारहरुलाई स्वागत गरिएको थियो । गायक, गायिका, संगीतकारदेखि मोडेल, कोरियोग्राफर र चित्रकारसम्मका कलाकारलाई इनासले स्वागत गरेको छ ।

इनास यूके अध्यक्ष चिपालु, इनास ग्लोबलका उपाध्यक्ष मनिषकुमार श्रेष्ठ, इनास यूकेका संस्थापक अध्यक्ष सनमकुमार वैराग, पूर्व अध्यक्ष रजनी सुनुवार, बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठ, प्रतिभा नक्षत्र यूकेकी अध्यक्ष सिम्मी पुन लगायतले कलाकारहरुलाई इनास यूकेका तर्फबाट स्वागत गरेका थिए ।

इनासद्धारा स्वागत गरिएका कलाकारहरुमा गायक नोर्बु घले, गायक गेहेन्द्रमान शाक्य, रचनाकार टंक थापा, गायक आवेश कुइंकेल, गायक नील पुन, मोडेल दीपक मैथाने, मोडेल आस्था जोशी, मोडेल प्रसुना कंडेल, गायक सन्तोष विक, गायक मीनबहादुर राना लगायत छन् ।

त्यसैगरी, संगीतकार सुनिल न्यौपाने, रेकर्डिस्ट शिव भण्डारी, कोरियोग्राफर/मोडेल सुस्मिता थापा, गायक अमित मगर, कोरियोग्राफर सुनिता थापा गौतम, निर्देशक/क्यामेराम्यान आशिष श्रेष्ठ, आयुषा श्रेष्ठ, मोडेल विभिया श्रेष्ठ लगायतका कलाकारलाई पनि इनास यूकेले स्वागत गरेको छ ।

कार्यक्रममा इनास यूकेका अध्यक्ष विनोद चिपालुले बेलायतस्थित सबै नेपाली कलाकारलाई एकत्रित गर्दै जाने इनासको प्रयासअनुसार कलाकारहरुलाई स्वागत गरिएको सुनाए ।

 

इनास ग्लोबलका उपाध्यक्ष मनिषकुमार श्रेष्ठले इनास कलाकर्मीहरुकै मञ्च भएकाले यो ‘प्लेटफर्म’ बाट सबै कलाकारहरुको प्रोत्साहन गरिंदै जाने बताए ।

त्यसअवसरमा इनासको युरोप समितिमा सहसंयोजकको जिम्मेवारी पाएका इनास यूकेका महासचिव सञ्जयभक्त कंडेललाई बिदाई गरिएको थियो । हालसम्म उनले सम्हाल्दै आएको यूके समितिको महासचिवको जिम्मेवारी अब संस्थाकै उपाध्यक्ष सर्वेन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।

कार्यक्रममा पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याललाई पनि इनास यूकेका तर्फबाट सम्मान गरिएको थियो । त्यसअवसरमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि एवम् इनासआबद्ध कलाकर्मीहरुको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू