बुधबार, वैशाख १२, २०८१
05:44 | १०:२९

एमसीसी अनुमोदनका लागि प्रधानमन्त्रीको दौडधुप, ओलीसंग भेटवार्ता  

रासस फ्रेब्रवरी २२, २०२२

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आज साँझ करिब डेढ घण्टा भएको भेटमा उनीहरुबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत समसामयिक राजनीतिक विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई ‘तपाईंले संसद्मा दर्ता गराएको एमसीसीसम्बन्धी प्रस्ताव आफूले सदनमा टेबुल गरेको’ भन्दै अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

अनुमोदनका लागि समय कम भएकाले संसद् सञ्चालन गर्न र अनुमोदनमा समर्थन गर्न प्रधानमन्त्रीले आग्रह गरेका थिए ।

सरकारले प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबुल गरेको थियो । एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेभित्र संसद्बाट अनुमोदन गर्नुपर्ने समय निर्धारित छ । सरकारले सो अवधिभित्र अनुमोदनका लागि सबै राजनीतिक दलको सहमति जुटाउन प्रयास जारी राखेको छ ।

भेटमा कांग्रेसका तर्फबाट पार्टी सभापति एवं प्रधानमन्त्री देउवा, उपसभापति पूर्णबहादुर खड्का र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी पेश भएपछि सत्तारूढ तथा प्रतिपक्षमा रहेका दलहरुबीच त्यसलाई अनुमोदन गराउन घनीभूत छलफल भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू