शुक्रबार, वैशाख १४, २०८१
00:26 | ०५:११

विश्वकप क्रिकेट छनोट: नेपालको विजयी सुरुवात

ओमान ३९ रनले पराजित

रासस फ्रेब्रवरी १८, २०२२

काठमाडौँ–आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो ।
कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले ओमानमाथि सहज जित निकालेको हो ।
एक सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । ओमानका नसिम शुखीले सर्वाधिक २४ रन बनाए भने आमिर कलिमले ९, जतिन्दर सिंहले ९, खवर अलीले ७, फैज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।
बलिङतर्फ नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । त्यसैगरी अविनाश बोहरा र जीतेन्द्र मुखियाले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौकासहित सर्वाधिक ३८ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमलसिंह ऐरीले १ रन बनाए ।
ओमानका खवर अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई तथा फैज बट, जिसन मक्सुदले एक–एक विकेट लिए । नेपालले दोस्रो खेल शनिबार फिलिपिन्ससँग खेल्नेछ ।
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् ।
ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।
यस जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ । सोही प्रतियोगिताअन्तर्गत नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ । विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई शीर्ष टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने ‘टि २०’ विश्वकपमा स्थान बनाउने छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू