शनिबार, वैशाख ८, २०८१
12:53 | १७:३८

बेलायत र नेपाल सरकार सम्मिलित त्रिपक्षीय वार्तामा गोर्खाबाट छानिए जुदबहादुर

नेपाली लिङ्क जनवरी २५, २०२२

बेलायती सांसद डेमिन कोलिन्स छेउ उभिएका (टोपी वाला) भूपू मेजर जुदबहादुर गुरुङ हुन् । कोलिन्सले अन्य गोर्खाहरुका साथ गत २१ जनवरीमा आफ्नै कार्यालय, फोक्स्टनमा गोर्खा समस्या र समाधानका उपायबारे छलफल गरेका थिए ।

लन्डन । बेलायत र नेपाल सरकारका प्रतिनिधिसहित भूतपूर्व गोर्खाहरुको आसन्न त्रिपक्षीय वार्तामा बस्न गोर्खाका तर्फबाट मेजर (रि). जुदबहादुर गुरुङ छनोट भएका छन् ।

सोमबार लन्डनस्थित नेपाली दूतावासमा भएको झण्डै ५ घण्टा लामो छलफलपछि भूतपूर्व गोर्खा संगठनहरुले गुरुङलाई मध्यस्तकर्ता (नेगोसिएटर) र प्रवक्तासहित वार्तामा बस्न सर्वसम्मत छानेका हुन् ।

छलफलमा गोर्खा सत्याग्रह बेलायत शाखाका संयोजक टकबहादुर गुरुङ, गेसोका तर्फबाट धर्म तामाङ, बिजिडब्लुएसका प्रकाश गुरुङ, नेसाका केशबहादुर गुरुङ, युबिजिएनका लक्ष्मी घिसिङ, अनसनकर्ताहरु पुष्पा घले, धन गुरुङ र ज्ञानराज राई सहभागी थिए ।

दूतावासका तर्फबाट द्धितीय सचिव रामबाबु नेपाल र सैनिक सहचारी रत्न गोदार संलग्न थिए । कार्यवहाक राजदूत रोशन खनाल भने कोरोना संक्रमणका कारण छलफलमा सहभागी भइनन् ।

गुरुङले दुई देशका सरकारबीच हुने निर्णायक वार्ताको टेबुलमा भूतपूर्व गोर्खाहरुलाई प्रतिनिधित्व गर्नेछन् । उनले गोर्खा समस्या, समाधानका विकल्प र यससंग सम्बन्धित वार्ताको अपडेट गर्ने छलफलमा सहभागी गोर्खा सत्याग्रहका अभियान निर्देशक ज्ञानराज राईले नेपाली लिंकलाई बताए ।

‘जुद एकजना विवादरहित, शिक्षित, अनुभवी र स्पष्ट वक्ता भएकाले हामीले उहांलाई छान्यौं’, राईले भने ।

बेलायतका लागि प्रस्तावित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बेलायत आएपछि त्रिपक्षीय वार्ता अगाडि बढ्नेछ । बेलायतले आचार्यको ‘एग्रिमो’ परराष्ट्रमा पठाइसकेकाले राष्ट्रपतिबाट नियुक्ति हुने बित्तिकै उनी छिट्टै बेलायत आउने अपेक्षा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू