महामारीमै पनि बेलायतमा प्रपर्टीको भाउले बनायो नयाँ रेकर्ड
प्रपर्टी मूल्यमा डेढ दशकयताकै उच्च वृद्धि


लन्डन । महामारीकै बीच पनि बेलायतमा प्रपर्टी मूल्य लगातार बढेको बढ्यै छ ।
बिल्डिङ सोसाइटी ‘नेसनवाइड’ का अनुसार सन् २०२१ मा बेलायतमा घरको औसत मूल्य अहिलेसम्मकै उच्च रेकर्ड भएको छ ।
नेसनवाइडको तथ्यांकले बेलायतमा वर्षको अन्तिम डिसेम्बर महिनामा घरको औसत मूल्य २ लाख ५४ हजार ८ सय २२ पाउन्ड पुगेको देखाएको छ। जुन मूल्य यही वर्षको शुरुवातको तुलनामा २३ हजार पाउन्ड बढी हो ।
सन् २०२१ मा बेलायतमा प्रपर्टीको मुल्यमा पछिल्लो डेढ दशकयताकै सबैभन्दा उच्च वृद्धि भएको तथ्यांकले देखाउँछ । सन् २००६ पछिका कुनै पनि वर्षमा यति उच्च दरमा प्रपर्टीको मुल्य बढेको थिएन ।
कोभिड महामारीका कारण देशको अर्थतन्त्रमा थुप्रै प्रतिकुल असरहरु परिरहंदा समेत प्रपर्टीको मूल्य लगातार बढिरहेको छ । तर नेसनवाइडले आउंदो वर्ष भने प्रपर्टीको भाउ केही सुस्ताउने आँकलन गरेको छ ।
यसअघि सरकारले ल्याएको ‘स्ट्याम्प ड्यूटी’ छुटको राहतका कारण पनि धेरैलाई घर किन्न प्रेरित गरेको ठानिएको छ । तर गत सेप्टेम्बर महिनादेखि नै उक्त राहत बन्द भएकाले त्यसको असर आगामी वर्षको बजारमा देखिने अनुमान छ ।
त्यसो त अहिले आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसको ‘ओमिक्रोन भेरियन्ट’ ले पनि प्रपर्टी बजारमा नकारात्मक असर पार्ने ठानिएको छ ।
त्यस्तै, हालै बैंक अफ इंल्याण्डले ब्याजदर शून्य दशमलव १ बाट बढाएर शून्य दशमलव २५ पुर्याएको छ । नयाँ वर्षलगत्तै ब्याजदरमा फेरि हुने भनिएको वृद्धिले पनि प्रपर्टी बजारको गति थप मन्द पार्ने सम्भावना छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५