बुधबार, वैशाख २६, २०८१
00:50 | ०५:३५

स्वर्ण विजेता भलिबल खेलाडी स्वदेश फर्किए

रासस डिसेम्बर ३०, २०२१


काठमाडौं । बंगलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली विहिबार स्वदेश फर्किएको छ ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गरे । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।

गत मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो । बंगलादेशको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । 

प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो । त्यस्तै पुरुषतर्फ खेलमा भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको भिडन्तमा उज्वेकिस्तानसँग नेपाल ३–० को सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । 

प्रतियोगितामा भाग लिएको नेपाली पुरुष टोली पनि विहिबार नै स्वदेश फर्किएको छ। सरकारले च्याम्पियन टोलीका १२ सदस्यीय खेलाडीलाई जनही रु पाँच लाख तथा दुई प्रशिक्षकलाई जनही रु तीन लाख दिने निर्णय गरिसकेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू