शनिबार, माघ ८, २०७८
05:06 | १०:५१

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

रासस डिसेम्बर २८, २०२१
काठमाडौं । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै गर्दै उपाधिमाथि कब्जा गरेको हो । यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय उपाधि समेत हो ।
यसअघि बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणको उक्त च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा पहिलो ऐतिहासिक स्वर्णपदक जितेको थियो ।
नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले जित्न सफल भयो ।  नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा उज्वेकिस्तान विजयी भयो । उज्वेकिस्तान २६–२४ ले विजयी भयो ।
त्यसैगरी तेस्रो सेटमा नेपालले २५–१५ ले जित्यो । चौथो सेट उज्वेकिस्तानले २५ –२२ ले जित्दा खेल २–२ को स्थितिमा आयो । त्यसपछि खेलको पाँचौँ तथा निर्णायकमा नेपाले १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।
लिग चरणमा भने नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।
यही पुस ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको महिलातर्फ आयोजक बङ्गलादेश, नेपाल, कीर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान गरी छ राष्ट्रको सहभागिता थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू