बिहीबार, वैशाख १३, २०८१
09:39 | १४:२४

एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

रासस डिसेम्बर २६, २०२१

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको फाइनल प्रतिस्पर्धामा उपाधि जितेपछि सामूहिक तस्वीर लिँदै विभागीय टिम एपिएफका खेलाडी । तस्बिर- रासस

सुदूरपश्चिम । विभागीय टोली एपिएएफ क्लबले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश नं १ लाई सात विकेटले हराउँदै उपाधि चुमेको हो ।

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा प्रदेश नं १ लाई सात विकेटले पराजित गर्दै एपिएफ प्रतियोगिताको च्याम्पियन बनेको हो ।

उपाधि जितेसँगै एपिएफले रु पाँच लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको प्रदेश १ ले रु तीन लाखसहित ट्रफी तथा मेडल प्राप्त गरयो । फाइनलमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनायो ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ र अप्सरी वेगमले ११ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ एपिएफका लागि सीता रानामगरले तीन र रेखा रावलले दुई विकेट लिइन् । ६८ रनको विजयी लक्ष्य एपिएफले १४ दशमलब दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा गरयो । एपिएफका लागि ज्योति पाण्डेयले अविजित ३७ तथा ममता चौधरीले १७ रन बनाइन् ।

बलिङतर्फ प्रदेश १ की कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । एपिएफ की सीता रानामगर ‘प्लेयर अफ दी म्याच’ तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी प्रदेश १ की कप्तान रुविना क्षेत्री घोषित भइन् । क्षेत्रीले पाँच खेलमा १५७ रन बनाउनुका साथै आठ विकेटसमेत लिएकी थिइन् ।

यस्तै दुई अर्धशतकसहित १७६ रन बनाएकी अप्सरी वेगम उत्कृष्ट ब्याट्सवुमन घोषित भइन् । नेपाल क्रिकेट संघ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको संयुक्त आयोजनामा यही पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू