शनिबार, जेठ ५, २०८१
13:17 | १८:०२

बेलायतमा अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन एक लाख छ हजार नाघ्यो

नेपाली लिङ्क डिसेम्बर २३, २०२१

लन्डन । बेलायतमा दैनिक कोरोना संक्रमित संख्याले नयाँ कीर्तिमान कायम गरेको छ । बुधबार एकैदिन पहिलोपल्ट महामारीयताकै सबैभन्दा बढी एक लाख छ हजार १२२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ ।

यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड १६ लाख ४७ हजार ४७३ पुगेको छ ।

नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । संक्रमण दर उच्च रहेपनि कोरोना संक्रमणका कारण हुने मृत्युमा भने वृद्धि भएको छैन । अस्पताल भर्ना हुनेको संख्यामा पनि खासै परिवर्तन भएको छैन ।

यसअघि कोरोनाको दोस्रो लहरका बेला अस्पताल भर्ना हुनेको संख्या ३९ हजार नाघेको थियो । तर, अहिले अस्पताल भर्ना हुनेको संख्या पाँच गुणाले कम छ ।

अहिले बेलायतका अस्पतालमा भर्ना हुनेको संख्या आठ हजार छ । संक्रमण दर उच्च रहेपनि यसअघिको डेल्टा भेरिएन्टको तुलनामा ओमिक्रोनले कम असर गरेको र कम व्यक्ति अस्पताल भर्ना हुनुपरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाका कारण १४० जनाको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ४७ हजार ५७३ पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले ‘बुस्टर डोज’ लाई निकै तीव्रताका साथ अघि बढाएको छ ।

सरकारले बुधबार नौ लाख ६८ हजार ६६५ डोज खोप वितरण गरेको छ । पछिल्लो एकसाताभित्र ६१ लाख जनालाई बुस्टर डोज दिइएको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ९५ लाख ७९ हजार ५६९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १५ लाख ७७ हजार ७८२ जना अर्थात् ८९.७ प्रतिशतले खोपको पहिलो र ४ करोड ७१ लाख ५६ हजार ८९९ जना अर्थात् ८२ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

यसै गरी ३ करोड ८ लाख ४४ हजार ८८८ अर्थात् ५३.६ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू