आइतबार, वैशाख २३, २०८१
11:55 | १६:४०

भाडामा शरीर: आम्सटर्डम वेश्यालयको अनुभव

भीम राई डिसेम्बर १२, २०२१

एमएससी म्याग्नाफिका पानीजहाजदेखि बिहानीको ब्रेकफास्ट लिएर बाहिर जमिनमा निस्कंदै गर्दा फुसफुस्से पानी परिरहेको थियो । हुन त युरोपियन हिउँदे मौसममा पानी र हिउँ पर्नु कुनै नौलो कुरा भने निश्चय पनि हुँदै होइन । हामी त्यसरी पानीजहाजदेखि बाहिर निस्कदा हातेघडीले बिहानीको ९ बजाइसकेको थियो, तैपनि बाहिरको मौसम हल्का अंध्यारो देखिन्थ्यो । त्यति नरमाइलो मौसमको तिथिमिति तोकेर ठ्याक्कै भन्ने हो भने त्यसदिन ३ डिसेम्बर २०२१ थियो । र, हामी त्यसबेला म्याग्नाफिका क्रुजदेखि उत्तरी युरोपलाई फनफनी चक्कर मारिरहेका थियौं । अनि हामीलाई त्यसपटकको क्रुजयात्रामा छोरी नमिता र जुवाई डम्बरले पनि साथ दिइरहेका थिए ।

लगभग ३५ सय अनुरागी यात्रुहरु बोक्ने क्षमता भएको म्याग्नाफिकाले त्यसपटक ८ सय ९९ जना यात्रु बोकेर इमुदिन बन्दरगाह द नेदरल्याण्डमा एकरात बास बसेको थियो । वास्तवमा त्योभन्दा अघिलो दिन हामी जीबर्गर, बेल्जियम गइरहेका थियौं तर अंग्रेजी जलसंयोजनमा अचानक आएको सामूद्रिक आँधिबेरीले हाम्रो जहाज एकदिन अगाडि नै नेदरल्याण्डतर्फ मोडिएको थियो । अचानक पानीजहाजले आफ्नो जलपथ परिवर्तन गर्नुपर्ने खबर इटालियन कप्तान पियाट्रो मोरिस्कोले बताउँदै गर्दा छोरी जुवाईंको अनुहार धुमिल धुमिल भएको थियो । किनभने उनीहरुका पाइला बेल्जियमको माटोमा प्रथम चोटी पर्न गइरहेका थिए । तर तारा र मेरो चाहिँ भाग्यले भनौं कि खै के, बेलायतदेखि बेल्जियम पानीपँधेरो जस्तै बनेका थियो  ।

९५ हजार १ सय २८ टन तौल क्षमता भएको पानीजहाज म्याग्नाफिकाको सिंढीबाट ढल्किंदै बाहिर जमिनमा निस्केपछि राजेश पायल राईको, ‘हर्पेमा आम्मै घ्यू रैछ, कलिलो जीउ रैछ,’ भन्ने गीतमा हामी सबै मिलेर एउटा सानो टिकटक बनाएका थियौं । किनभने आजभोलिको दुनियामा अरु जम्मै कुरा उछिनेर टिकटकले राम्रै बजार लिइरहेको अवस्था छ । अझै त्यो भन्दा ठूलो कुरो त राजेश यीनै नमिताका सहोदर काइँला भाई पनि हुन् । र, अहिलेसम्म विवाह गर्न साइत नजुरेका तिनै महागायकको कर्णप्रिय स्वरमा स्वर मिलाउँदै कलिला कलिला जीउ भएकी षोडशीहरुको रमिता हेर्न हामी डि वालेन, आम्सटर्डमतर्फ लागिरहेका थियौं ।

उत्तरी हल्याण्ड प्रान्तमा अवस्थित लघु बन्दरगाह इमुदिन पुगेको त्यो क्षण मेरो लागि पहिलो पटक चाहिँ होइन । किनभने त्यसको ठीक ५ वर्ष पहिले म पूर्वी युरोपको सेरोफेरो लगाउने क्रममा सेन्ट पिटर्सबर्ग रुसतर्फ गइरहेको थिएँ । र, हामीलाई रुसतर्फ लाने पानीजहाजको नाम नर्वेजियन जेट थियो । त्यसबेला पनि नर्वेजियन जेटले म्याग्नाफिका जस्तै इमुदिन बन्दरगाहमा एकदिन मज्जाले आराम गरेको थियो । हुन त पानीजहाज रोकिएको त्यो क्षणलाई आराम पनि खै के भनिहालौं र ? जुनसुकै बन्दरगाहमा पानीजहाज रोकिनेबित्तिकै भीमकाया डोरीको लट्ठारोले जहाजलाई हलचल नहुने गरेर टमक्कै कसेर राखेका हुन्छन् । त्यसबेला पनि इमुदिनमा त्यति ठूल्ठूला लट्ठारोले नर्वेजियन जेटलाई बाँधेर राखेपछि तारा र म लाल रंगले रंगीएको आम्सटर्डम वेश्यालय पुगेर फनक्कै एक चक्कर मारेका थियौं ।

विश्वको अति प्रख्यात यौनिक राजधानी ‘आम्सटर्डम रेड लाइट डिस्ट्रिक्ट’ पहिले एकचोटी पुगिसकेको हुनाले पानीजहाजबाट निस्कनेबित्तिकै मैले त्यसदिन पथप्रदर्शकको भूमिका निर्वाह गर्न सुरु गरेको थिएँ । त्यसैले बाहिर जमिनमा एउटा टिकटक बनाइ सकेपछि म सरासर हिंड्दै अध्यागमनतर्फ लागेको थिएँ । अनि मेरो पछिपछि मेरा मित्रहरुले मलाई पछ्याउन थालेका थिए । अध्यागमनमा पुगेर थोरै समयपश्चात् हामी सूचना केन्द्रतर्फ लागेका थियौं ।

सूचना केन्द्रमा पुग्नेवित्तिकै मेरो नजर एकजना डच युवतीको नजरसगँ मज्जाले ठोकिन पुग्यो । जब म हिंड्दै उनको समिपमा पुगें उनले हत्तपत्त, ‘यहाँहरुलाई आम्सटर्डममा न्यानो स्वागत छ,’ भनिन् र आम्सटर्डम वेश्यालयको नक्सा मेरो हातैमा थमाइदिइन् । उनको त्यति न्यानो आतिथ्यले मेरो मन सिमलको भुवाझैं हावामा फुरुङ्ग उडिरह्यो । अझै त्यसबेला अध्यागमन बाहिरको मौसम लगभग शून्य डिग्री सेन्टिग्रेट जस्तै थियो, तैपनि त्यति कोमल तर अति कामुक युवतीको हस्तरेखाहरु मेरो हत्केलामा विलिन हुँदा मेरो शरिरको तापक्रम उँभो बढदै गरेको एकछिनसम्म मैले महसुस गरिरहें ।

सामूद्रिक सतहभन्दा २ देखि ७ मिटर मुनी रहेको देश द नेदरल्याण्डको राजधानी आम्सटर्डमको नक्सा हातमा परेपछि हामी सिधै अगाडि रहेका अजङ्गका खुड्किलाहरु आँखा झिमिक्कको भरमा पार ग¥यौं । त्यसपछि डाँडाको टुप्पामा पुगेर कम्मरमा हात राख्दै एकचोटी खुइअ… गरेर लामो सास लियौं । फोक्सोमा निक्कै धेरै अक्सिजन जम्मा गरेपछि हाम्रा पाइतालाहरु सुस्तरी बस स्टेसनतर्फ बढदै गएका थिएँ । किनभने त्यही बस स्टेसनदेखि ३८२ नम्बरको बस चढेर आम्सटर्डम सहर घुम्न जाने हाम्रो अग्रीम योजना तय भएको थियो ।

बस स्टेसनमा हामी पुग्दा कुनैकुनै यात्रुहरुले निक्कै अगाडिदेखि बसको प्रतिक्षा गरिरहेका थिए । त्यहाँ लामबद्ध भएर उभिरहेका मानिसहरुलाई हेर्दा धेरैजसो अंग्रेजहरु नै हुन् कि भन्ने मलाई भित्रभित्रै लागिरहेको थियो । हुन त उहिलेदेखि अहिलेसम्म संसार विजय गर्न भनेर हिंडेका अंग्रेज नपुगेको स्थान सायद विरलै मात्र भेट्न सकिन्छ । तर खेदको कुरो के छ भने पश्चिमेलीहरुलाई झल्यास्स हेर्दा प्रायः धेरैजसो मानिसको अनुहार उस्तैउस्तै देखिने हुनाले जबसम्म उनीहरुको मुखबाट शब्दहरु प्रस्फुटित हुँदैनन् तबसम्म कुन देशका रहेछन् ठम्याउन निक्कै मुस्किल पर्छ । खैर, त्यहाँ बसको प्रतिक्षा गरिरहेका मानिसहरु जुनसुकै देशका भएपनि उनीहरुको हातहातमा अगी्रम खरिद गरिएका बसको टिकटहरु देख्दा म झसंग झस्किएको थिएँ ।

उनीहरुको हातहातमा टिकट देखा परेपछि मेरो मनभित्र हल्का तरङ्ग त यसै पैदा भएको थियो, तैपनि सरासर हिंड्दै ताँतीको पुच्छारमा पुगे । र, मेरो सामुन्ने ढिङ्ग उभिरहेको तर हेर्दा खान नपाएका मरिन्च्यासे बाँदर जस्तो देखिने एकजना अधबैसे मान्छेलाई, ‘मलाई माफ गर्नोस् ! बसको टिकट कहाँ पाउन सकिन्छ होला ?’ भनेर सुस्तरी सोधें । उनले उत्तर दिने क्रममा, ‘अध्यागमनको बाहिर पट्टी एउटा रातो तर सानो मालसमान बोक्ने ट्रक छ । हामीले तिनै ट्रकमा भएका मानिसदेखि टिकट खरिद गरेका हौं,’ भने । उनको कुराले मेरो नाडी यसै गलेर आयो किनभने मलाई पुनः अध्यागमन फर्कन मन लागिरहेको थिएन । त्यसैले सायद बसमा पनि टिकट खरिद गर्न पाइएला कि भनेर तारालाई सानो स्वरमा सुनाइहालें ।

इमुदिन बन्दरगाहमा घडीको काँटा आफ्नै गतिमा घुमिरहेको थियो । करिब १५ मिनेट जति समय खर्च भएपछि दुई डिब्बे रेल जस्तै देखिने लामो बसले हाम्रो अगाडि टुप्लुक्क अनुहार देखायो । बस त्यहाँ आएर रोकिनेवित्तिकै टिकट भएका मानिसहरु ढुक्कले बसभित्र पस्न सुरु गरिहाले । अब हाम्रो साथमा टिकट थिएन, त्यसैले बसभित्र टिकट खरिद गर्न पाइएला कि नपाइएला भनेर मलाई हल्का त्रास उत्पन्न भइरहेको थियो ।

हुन त संसार भ्रमण गर्न रहर गरेर घर छाडेको मानिसले जाबो बसको टिकट किन्नका लागि कुन ठूलो कुरो हो र भन्ने एकचोटी सोचें । तैपनि फेरी अध्यागमनछेउ फर्केर जान नपरोस् है भन्दै पानीमा भिजेको मुसो झैं बनेर चालकको नजिकै पुगेको  थिएँ । अनि चालकको ठीक सामुन्ने पर्नेबित्तिकै, ‘मलाई माफ गर्नुहोस् ! के बसमा टिकट खरिद गर्न पाउँछ ?’ भनेर हतार–हतार सोधिहालें । उनले मेरो सिधै अगाडि रहेको क्रेडिट कार्ड पेल्ने मेसिन देखाएर मेरो प्रश्नको जवाफ फर्काइदिए । आम्सटर्डम यात्रामा हामी जम्मा ४ जना थियौं । त्यसैले मेसिन देख्नेवित्तिकै खुसी हुँदै २८ यूरोको लागि मैले क्रेडिट कार्ड निकालेर हडबडाउँदै पेलिहालें ।

टिकट खरिद गरिसकेपछि हामी बसको पछाडि भागमा गएका थियौं । किनभने अगाडिका सिटहरु टन्न भरिसकेका थिए । तर हामी सिटमा पुगेर बस्न पाउँदा नपाउँदै, ‘अनुहारमा भइरहेको मास्कले नाक र मुख राम्ररी छोपेको हुनपर्छ,’ भनेर अग्रीम रेकर्ड राखिएको सूचना बसदेखि पटक–पटक बज्न थालिहाल्यो । किनभने नेदरल्याण्डमा पनि ओमिक्रोनले आक्रान्त तुल्याउन सक्छ भनेर मानिसहरु त्रसित भइरहेका देखिन्थे ।

तर कसोकसो मैले फ्रान्स र जर्मनीमा जत्तिको नेदरल्याण्डमा यात्रा गर्न अफ्ठ्यारो महसुस गरिरहेको थिइन । ति देशहरुमा त क्याफेभित्र छिर्न राहदानी, दुई वटा कोभिड खोप लगाएको राहदानी, सवारी चालक अनुमतिपत्र देखाएर मात्र पनि पुग्दैनथ्यो । अझै उनीहरुले बनाएको फाराममा आफ्नो स्थायी वेतन र सम्पर्क नम्बर पनि भर्नुपर्दथ्यो । त्यसरी बसभित्र त्यति स्पष्ट सूचना पाएपछि मैले मास्क सहि स्थानमा छ कि छैन् भनेर एकचोटी निश्चित गरें । त्यसपछि बसमा थपक्क बसेको मात्र के थिएँ, बसले आफ्नो बाटो तताइहाल्यो । र, लगभग ५ मिनेट जति बस गुडेपछि पूर्णतय रोकिन पुग्यो ।

बस रोकिनेवित्तिकै, ‘यहीं बस बिसौनीमा अर्को बस आउँछ, त्यसैले सबैजना बसबाट ओर्लनुहोला,’ चालकले उर्दी जारी ग¥यो । चालकको कुरा सुनेर हामी सबैजना झ¥यौँ । नभन्दै दुई–तीन मिनेट जति समय जाँदा नजाँदै एउटा अर्को बस आइहाल्यो । र, २८ वटा बस बिसौनी पार गर्दै लगभग ४० मिनेटको यात्रा पूरा गरेपछि बसले हामीलाई स्लोटेरडिक बस स्टेसन पु¥याइदियो ।

हजारौँ साइकलको बीचमा अवस्थित स्लोटेरडिक बस स्टेसन हाम्रो बस यात्राको अन्तिम गन्तव्य थियो । बसदेखि झरेपछि जाडो असाध्यै थियो, त्यसैले आ–आफ्नो गोजीमा हात राखेर बिजुली भ¥याङको प्रयोग गर्दै एक तला माथि उक्लेका थियौं । त्यही तलामा रहेको टिकट स्टेसनदेखि रेलको टिकट काटेर हामी आम्सटर्डम सेन्ट्रल जान तम्तयार भयौ । छिनछिनमा रेल आउने त्यो स्टेसनमा एउटा रेल आउनेवित्तिकै पक्रिहाल्यौ र आफ्नो बाटो तताइहाल्यौं । स्लोटेरडिक रेल स्टेसनदेखि आम्सटर्डम सेन्ट्रल पुग्न मात्र एक स्टेसन पार गर्नु परेको थियो । आम्सटर्डम सेन्ट्रल पुगेपछि हामी जस्तै अन्य २ लाख मानिसले हरेक दिन त्यो स्टेसनको प्रयोग गर्छन् भन्ने जानकारी पाउँदा म दंग परेको थिएँ ।

आम्सटेल नदीको दायाँ किनारमा अवस्थित आम्सटर्डम सेन्ट्रलदेखि बाहिर निस्कनेवित्तिकै मार्कमिर झिलदेखि आएको भयंकर चिसो बतासले हाम्रो अनुहार छुँदा मरौं कि बाचौं बनाइरहेको थियो । त्यति चिसो बताससगँ युद्ध लड्दै लड्दै आएकी मेरी अर्धाङ्गिनीले मलाई चिसो नलागोस् भनेर, ‘ज्याकेटको टोपी लगाइ रहनु है,’ भन्ने हुकुम जारी गरिन् । हुनत एउटा जिन्दगी सँगसँगै बिताउँ भनेर छानेकी मान्छेलाई अब म अन्य धेरै कुरा के नै पो भन्न सक्थें र ? प्रति उत्तरमा, ‘हुन्छ,’ सम्म भनेँ । वास्तवमा म त्यसबेला लाल रंगमा सजिएकी षोडशीहरु हेर्नका लागि एकदम आतुर अवस्थामा थिएँ । त्यसैले त्यति मात्र भनिराखेर चाँडोचाँडो हिंड्दै क्रमशः दामर्क पथतिर लम्किहालें ।

दामर्क पथमा एकछिन हिंडेपछि मैले गोजीबाट नक्सा निकालेर प्रिन्स हेर्डिक्काड सडक कता पर्छ होला भनेर एक झलक नक्सा हेरें । नक्सा र जमिनको रेखांकन मिलेपछि मेरो पाइतालाहरुबायाँतर्फ मोडिएर सुरुसुरु अगाडि बढन थालें । हाम्रो भ्रमण दलका अन्य सदस्यहरु पनि मेरो पछिपछि आउन थाले । नत्र त्यति ख्यातिप्राप्त नहरहरुको, साइकलहरुको, बेश्यालयहरुको वा सत्रौं  शताब्दीमा बनेका आकर्षक घरहरुको सहर आम्सटर्डममा कतै हराइ हालिएला कि भनेर उनीहरु ठूलो सुर्तामा थिए ।

हुन त घरिघरि रुप परिवर्तन भइरहने कोरोना महामारीले विश्व अति नै आक्रान्त बनिरहेको छ, जसले नेदरल्याण्डलाई पनि अछुतो राख्न सकेको छैन् । तर हामी प्रिन्स हेर्डिक्काड सडकमा पुगेर त्यति धेरै मानिसहरुको भिँड देख्दा गोजीदेखि हतारहतार मास्क निकालेर उनीहालें र एकछिन ट्वाल्ल परेर रमिता हेरिरहें । त्यति व्यस्त सडकमा केहिबेर हिंडेपछि हामी अलिक भित्रपट्टिको जिडिक गल्लीमा छिरेका थियौं ।

तर त्यो गल्लीमा छिरेको २–४ मिनेट हुँदा नहुँदै मेरा कदम डि क्लेस्टस्कोप क्याफेभित्र पुगेर रोकिएका थिए । किनभने केही समय अगाडि ताराले बिहानको ब्रेकफास्टमा चिया अलिक बढि नै पिएछु कि के हो भन्ने कुरा मेरो कानमा आएर सुटुक्कै बताएकी थिइन् । अझै उनी त्यति मात्र भनेर के चित्त बुझाउँथिन् र ? ‘चिया बढी पिएर आम्सटर्डममा शौचालय प्रयोग गर्न नपाएर मर्छु कि के हो ?’ सम्म भनेकी मैले नरमाइलो मान्दै सुनेको थिएँ ।

तारालाई सहयोग गर्ने भावले म बिरालो चालमा क्याफेभित्र पसेको थिएँ । त्यसपछि त्यो दोकानमा काम गर्ने एकजना लिखुरे मानिसलाई, ‘के तपाईहरुको क्याफेमा भएको सौचालय हामीले प्रयोग गर्न पाउँछौं ?’ भनेर एकदम सानो स्वरमा प्रश्न गरेको थिएँ । उनले प्रतिउत्तरमा, ‘आम्सटर्डममा जे पनि गर्न पाइन्छ तर दुर्भाग्यबस सित्तैमा कुनै चिज पाइदैन,’ निर्लज्जतापूर्वक मलाई भने ।

दोकानेको भनाइले मलाई ज्याक माको, ‘सित्तैमा कुनै चिज पाइदैन, र सबैकुरो तिर्नु पर्छ,’ भन्ने वाणीको याद उजागर भयो । हुन त नेपालीहरुले सित्तैमा भट्यो भने एमसीसी पनि लिने भन्ने किस्सा सुनिरहेको थिएं । आशा एवं भरोसा गरौं चन्दा थापेर देश चलाउँनु भन्दा केहि पाउनका लागि कमाउनु पर्छ भन्ने मानसिकताले एकदिन विजय गरोस् । त्यति सोचिसकेपछि, ‘आ.. ठिक्कै छ नि बरु दाम चाहिँ कति पो होला ?’ भनेर मैले दोश्रोचोटी उनलाई सोधें । उनले पछाडि भित्तातिर फर्केर सानो स्वरमा, ‘प्रतिब्यक्ति ५० सेन्ट दिनुपर्छ,’ भन्नेवित्तिकै गोजीबाट २ युरो निकालेर हामी ४ जनाको है भनेर दिएं ।

क्याफेभित्रको शौचालय प्रयोग गर्ने अनुमति पाएपछि तारा खुशीले प्रफुल्ल भएकी थिइन् । त्यसपछि हामी कछुवा गतिमा हिंड्दै गएर सिधै अगाडि देखिएको एउटा सानो फलामे साघुँलाई पार गरयौं । हुनत आम्सटर्डम सहरभरी त्यस्ता साघुँहरु जम्मा १७ सय रहेछन् । त्यो संख्या त भेनिसको भन्दा कता कता धेरै । अझै त्यस्ता साघुँहरु नहरमाथि मात्र १ सय ६० वटा छन् ।

तर कुरोको चुरो के हो भने त्यो सानो सांघु छिचोल्ने बितिक्कै हाम्रा पाइतालाहरु सुस्तरी डि वालेन क्षेत्रभित्र परिसकेका थिए । आम्सटर्डमको डि वालेन क्षेत्र त्यही क्षेत्र हो जहाँ सन् १९४० देखि आजका मितिसम्म आधिकारिक रुपमा वेश्यालयहरु चालु छन् । र, डिसेम्बरको जतिसुकै ठन्डी भएपनि तिनै बेश्यालयहरुमा अर्धनग्न एवम् कामुक युवतीहरु प्रजनन ग्रन्थी देखाउँदै झ्याल–झ्यालमा उँभिएर मधुर मुस्कान छरिरहेका रमाइलो दृश्यावलोकन गर्न पाइन्छ ।

त्यति धेरै युवतीहरुको मुस्कानको सहर आम्सटर्डममा रहेको डि वालेन, नेदरल्याण्डको सबैभन्दा पुरानो बेश्यालय क्षेत्र हो । तिनै बेश्यालयमा कोभिड १९ भन्दा अगाडि ४ सय ३ वटा कोठामा षोड्शीहरु बस्ने गर्दथे भने अहिले खुम्चिएर २ सय २५ मा झरेका रहेछन् । बेश्याहरुले तिनै कोठाहरु ८० देखि १ सय ८० यूरोसम्म तिरेर भाडामा लिने गर्छन् । र, १५ देखि २० मिनेटसम्म शारिरक सम्पर्क गर्नका लागि उनीहरुले आफनो शरिर ‍५० यूरोमा भाडामा दिने गर्दछन् । हुन त त्यो रकम त्यतिमा मात्र सिमित रहन्न । रति लम्पट पुरुषहरु मैथुनका लागि तयार भएर ढोकाबाट भित्र पसेपछि के कस्तो सेवा सुविधा उपभोग गर्ने हो उनीहरुको शुल्क त्यसैमा निर्धारित हुन्छ । ति सबै सुविधाहरुबारे मलाई अलिक अल्पज्ञान भएकाले सबैकुरा वर्णन गर्न म यहाँ सक्षम छैन् ।

आम्सटर्डम नगरका बधुहरुले केही यूरोका लागि आफ्नो शरीर भाडामा दिएपनि उनीहरुको जिन्दगी दोहोरो चरित्रले बिताइरहेका हुनेरहेछन् । अनि उनीहरुले त्यहाँ निर्वाह गरिरहेको भूमिका बाहिर जीवनमा कहिले पनि देखाउँने गर्दैनन् र बेश्याबृत्तिमा लागेको आफ्नो परिवारलाई थाहा दिंदैनन् । त्यसैले नग्न अवस्थामा रहेर झ्यालमा उँभिरहेका उनीहरुको तस्विर यदि कसैले लिन खोज्यो भने उनीहरु अत्यन्तै रिसाउने रहेछन् । अझै कुनैकुनै युवतीहरु त यति आक्रामक हुने रहेछन् कि उनीहरुको तस्विर लिदैं गरेको देखिहाले भने क्यामेरा खोसेर नजिकै रहेको नहरमा फालिदिने रहेछन् ।

हरेक वर्ष २ लाख यौन पिपासुहरुले जिन्दगीभरि पालेका आफ्नो कामोत्तेजक इच्छा पुरा गर्ने त्यहाँ जम्मा १७ वटा गल्ली थिए । त्यतिका धेरै गल्लीमा पुग्न एकदिनको आम्सटर्डम भ्रमणमा हामीलाई के सम्भव हुन्थ्यो होला र ? तैपनि वस्त्ररहित युवतीहरु ठिङ्ग उभिरहेको आफ्नै नयनहरु सामु पर्दा बेश्यालयको हरेक सेकेण्ड हामीलाई मनोरन्जनपूर्ण भइरहेको थियो ।

तर खेदको कुरो के थियो भने कतिपय गल्लीहरु अलिक मसिना नै थिए र त्यतातिर जाँदा ह्वास्स गाँजाको गन्धले नाक र आँखा पोल्दा उकुसमुकुस भइरहेको थियो । आखिर जे सुकै भएपनि हामीले निक्कै धेरै गल्लीको अवलोकन मज्जाले गरेका थियौं । फेरि गल्लीमा हिड्दै जाँदा अचानक ‘द बुलडक बार’ सामुन्ने पुग्यौं र त्यँहादेखि नजिकै रहेको अर्को साघुँ तरेपछि आफ्नो नेत्र ज्योतिसामु परेका जम्मै युवतीहरुको बक्षस्थल हेर्दै–हेर्दै झन् अगाडि बढिरह्यौं । तर एकछिन हिंडेपछि हाम्रो नजर एक्कासी ‘रेड लाइट सेक्रेट संग्राहलय’ मा ठोकिएका थिए ।

अब १७ औं शताब्दीमा निर्माण भएर नहर (क्यानल) घरमा रहेको त्यति ऐतिहासिक यौन संग्राहलय देखेपछि त्यसको दर्शन नगरी के बेलायत फर्कने होला भन्ने मेरो मनमा थोरै खुलदुली उत्पन्न हुन थालिसकेको थियो । हेर्दा सानो तर चिटिक्क परेको त्यो संग्राहलय छिर्न मलाई त्यति सहज चाहिँ अवश्य थिएन । जिन्दगीमा पहिलोचोटी आम्सटर्डम वेश्यालयको भ्रमण गर्दा आफ्नै छोरी र श्रीमती साथमा थिइन् । जसले गर्दा छोरीसँग यौन संग्राहलयभित्र छिर्न थोरै कठिनाइ महसुस गरेको थिएँ । त्यसको पाँच वर्षपछि चन्द्रमा दाहिने भएर दोश्रोचोटी आम्सटर्डम पुगेको थिएँ । त्यसबेला दाजुको छोरी र ज्वाइँ सँगसँगै थिएँ ।

अब छोरीलाई के भनेर संग्राहलय छिर्ने होला भनेर मनभरि पिरको भारी बढ्यो । जहाँ समस्या, त्यहाँ उपाय भन्दै एउटा युक्ति लगाइहालें । ‘ज्वाइँ ! संग्राहलयको भ्रमण गर्ने होइन ?’ सानो स्वरमा उनलाई प्रश्न गरें । त्यसै त हरेक कुरोमा सकरात्मक मात्र विचार राख्ने ज्वाइँले मेरो कुरो सुन्नेवित्तिकै, ‘भइहाल्छ नि हजुर,’ भनेर स्वीकारोक्ति जनाउनुभो । तर भ्रमण दलमा हामी ४ जना थियौं र हामी दुईजनाले गरेको निर्णय नै सर्वोच्च  निर्णय हुन सक्तैनथ्यो । त्यसैले हामीबीच एकछिन तर्क वितर्कहरुको जन्म भइरह्यो ।

तर आम्सटर्डम वेश्यालय घुम्दै गर्दा सबैभन्दा गौरवको कुरो त के थियो भने हाम्रो कर्मभूमि बेलायत थियो । जहाँ अहिलेसम्म महिलाको शासन चल्ने गर्दछ । त्यसैले नेपाल जस्तो ३३ प्रतिशतको कुरा नगरेर नारीहरुले भनेको सबै नै उच्च प्राथमिकता दिने चलन रहिआएको छ । त्यसैले नारीहरुको अधिकार र भनाइलाई सिरोपर गर्दै हामीले 
संग्राहलयभित्र नजाने निधो गरेका थियौं । नत्रभने अन्य समयमा संग्राहलयभित्र प्रवेश गर्न १५ यूरो शुल्क लाग्ने गर्दथ्यो भने त्यसदिन कागताली परेर जम्मा १३ यूरोमा नै भेटेका थियौं ।

अब त्यही १३ युरो जोगाएपछि हामी पुनः नहरको किनारै किनार हिंड्न थालेका थियौं । तर केही समयपछि महिलाहरु आम्सटर्डम सहरको कोसेली किन्नका लागि वरिपरिका दोकानहरुभित्र पस्दै र निस्कदै गर्न थाले । मैले कसैलाई उपहार किन्नु पर्ने थिएन । तर उनीहरुले त्यसो गर्नु भनेको हामीलाई झन धेरै युवतीहरु हेर्ने अवसर प्रदान गर्नु नै हो भन्ने मैले राम्ररी बुझेको थिएँ । त्यसैले त्यति सुनौलो अवसरको फाइदा लिंदै म ढोका–ढोकामा ठिंग खडा भइरहेका युवतीहरुको नजिक पुग्न थालेको थिएँ ।

केहीबेरमा नहर पारी पुगेपछि एउटा सानो तर पूर्णतय खाली गल्ली भेटेको थिएँ । गल्लीको दायाँपट्टि जम्मा ४ जना षोडशीहरु खडा भइरहेका देखिन्थे । उनीहरुमध्ये सबैभन्दा किन्नरी देखिने एउटी कामोत्तेजकको ढोका नजिकै पुगें । लगभग २०–२१ वर्षीया जस्ती देखिने ती युवतीको नयनमा मज्जाले मेरा नयनहरु ठोकाइदिएँ । हाम्रा नयनहरु दुईदेखि चार भएपछि उनले सुस्तरी ढोका खोलिन्। हुन त आम्सटर्डम वेश्यालयमा २१ वर्षभन्दा मुनीका युवतीलाई भाडामा शरीर बेच्न कानूनी रुपले निषेध गरिएको छ । त्यसैले उनी निश्चय पनि २१ वर्ष माथिको हुनुपर्छ ।

जीना नाम बताउने तर अल्बानियन मूलकी ती सुकुमारी अन्य युवतीभन्दा अलिक पृथक देखिएकी थिइन् । उनका लामा लामा तर कैलो केश, निधारका तीन–चार रेखाहरु, मिलाएर काटेकी पातलो परेला, अग्लो नाकका नरम पोराहरु, दुवै कानका रित्ता छेडहरु, अलिकति खुलेका ओष्ठ, डिसेम्बरको चिसाले कठङ्ग्रिए पनि पुक्क–पुक्कका स्याउ जस्ता राता गाला, नाक छेउँमा काला कोठी, मयल बिनाका छोटा गर्धन, कपडाले नछोपिएका एकजोर गतिला भोगटेहरु, बोसो रहित तल्लो पेट र नाइँटोमा तुङलुङ्गै झुन्डिएका ढुङ्ग्री हो कि बुलाकी हेरेर म मन्त्रमुग्ध भइरहेको थिएं । ‘लाल बत्तिको जिल्ला’ आम्सटर्डममा भेटिएकी तिनै किन्नरीको त्यहाँदेखि मुनीको भाग नजर लगाउन मलाई पटक्कै जोस आएको थिएन । किनभने उनको त्यति सुकोमल शरीरको दर्शन गरेर नै मैले अग्रीम मोक्ष प्राप्त गरिसकेको थिएँ ।

वेश्यालयको रक्तिम ढोका समाएर निक्कै लामो समयसम्म उभिएपछि उनी आफैंले मुख खोलिन् –‘पचास यूरो हो । कि भित्र आउनोस्  होइन भने जानुहोस् । म ढोका बन्द गर्दैछु, किनभने बाहिर एकदम जाडो छ । र, म करिब–करिब नाङ्गो छु ।’

कोइलीको झैं सुरिलो स्वरमा आएका उनका अन्तिम शब्दहरु हावामा विलिन हुन नपाउँदै मेरो हृदयले करंगमा ढङ्गढङ्ग हिर्काउन सुरु गरेको थियो । त्यति भनिसकेर उनले ढ्याम्मै ढोका बन्द गरेपनि उनको अल्बानियन उदाङ्गो शरीर मैले सिसा बाहिरबाट क्वारक्वार्ती हेरिरहेको थिएँ । अनि आम्सटर्डमको सुनसान गल्लीमा मेरो दुवै खुट्टा जोडेर एउटा वाक्यांश निर्माण गर्ने प्रयत्न गर्दै थिएँ ।

‘संसार कति सुन्दर छ, तर जीवन कति दुःखमय छ ।’

उक्त वाक्यांश अजिर्णको व्यथासगँ मिसिएर मेरो भित्री हृदयदेखि उकुसमुकुस भएर बाहिर निस्कन खोज्दै थियो तर बाहिर निस्किसकेको थिएन । ठीक त्यहिबेला दुरदेखि ताराले, ‘बुढो ! जाने होइन ?’ भनेको अचानक सुनेपछि म किंकर्तव्यविमुढ बनेर फर्किएं ।

बानबरी, इंग्ल्यान्ड

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू