शुक्रबार, वैशाख ७, २०८१
11:46 | १६:३१

बेलायतमा १६० जनामा ‘ओमिक्रोन’ पुष्टि, यात्रामा थप कडाइ गरिंदै

नेपाली लिङ्क डिसेम्बर ५, २०२१


लन्डन । नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या बढ्दै गएपछि बेलायत भित्रिने यात्रुहरुलाई थप कडाइ गरिने  स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् ।

आउँदो मंगलबार बिहान ४ बजेपछि बेलायत आउँदा अनिवार्य रुपमा बढीमा ४८ घन्टाभित्र कोभिड (प्रि-कोभिड) टेष्टको प्रमाण देखाउनुपर्नेछ ।

हालको नियम अनुसार बेलायत आएको दुई दिनसम्म सेल्फ आइसोलेशन बसेर नेगेटिभ परिणाम पेश गर्नुपर्नेछ । सो नियम १२ वर्ष वा सो भन्दा माथिका लागि लागू हुनेछ । बेलायतमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या १६० पुगेको छ ।

जसमध्ये इंग्ल्याण्डमा १२९, स्कटल्याण्डमा २९ र वेल्समा एक जनामा नयाँ भाइरस फेला परेको सरकारले जनाएको छ । नाइजेरियाबाट आएका २७ जना मानिसमा नयाँ भाइरस देखिएपछि यहि सोमबार बिहान ४ बजेबाट नाइजेरियालाई यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा राखिने भएको छ ।

नाइजेरियाबाट बेलायती नागरिकमात्र आउन पाउनेछन् भने उनीहरुले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।

नयाँ भाइरस ‘ओमिक्रोन’ कति घातक छ भन्ने हाल अध्ययनकै विषय भएकाले यसको संक्रमण नियन्त्रण गर्न बेलायत सरकारले बुस्टर डोज वितरणमा तीव्रता दिएको छ ।

सरकारले दैनिक पांच लाख जनालाई बुस्टर डोज दिने तयारी गरेको छ । शनिबार सार्वजनिक ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांक अनुसार ३४.४ प्रतिशतले बुस्टर लगाईसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू