बिहीबार, वैशाख १३, २०८१
20:14 | ००:५९

नेपालले नौ मुलुकबाट आउने यात्रुलाई प्रवेशमा अनुमति नदिने

रासस डिसेम्बर २, २०२१
काठमाडौँ, १६ मङ्सिर– सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निणर्य गरेको छ ।
मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निणर्य गरेको हो ।
ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रुलाई आज राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निणर्य गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।
केही दिन अघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एशियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निणर्य गरेको हो ।
जनजीवनलाई सामान्य राख्ने उद्देश्यले अर्को आदेश नभएसम्मका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकारबमोजिम सरकारले यसअघि नै आदेश जारी गरिसकेको छ ।
सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूणर् यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अरु मुलुकको हकमा ती मुलुकमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई उपलब्ध गराउने छ । अध्यागमन विभागले सोही आधारमा यात्रा सुझाव जारी गर्नेछ ।
संक्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निणर्य गरेको छ । संक्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्नेछ ।
कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले केन्द्रकै संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या, गृह मन्त्रालय र सुरक्षा निकायको प्रतिनिधित्व हुने गरी एक कार्य टोली बनाउने छ । उक्त टोलीले होटल क्वारेन्टिनको व्यवस्था गर्ने र सोको अनुगमन गर्नेछ ।
क्वारेन्टिन अवधिमा लक्षण देखिएमा तत्कालै र अन्य अवस्थामा सातौँ दिनमा आरटी, पीसीआर विधिबाट परीक्षण गर्नुपर्नेछ । नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएको आइसोलेशन केन्द्र वा अस्पतालमा पठाइनेछ ।
नेपाल प्रवेश गर्न भिसा आवश्यक पर्ने अन्य मुलुकका विदेशी नागरिकलाई अध्यागमनसम्बन्धी प्रचलित कानूनबमोजिम अध्यागमन विन्दुमा प्रवेशाज्ञा दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
त्यस्ता यात्रुले विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रासम्बन्धी आदेश, २०७८ बमोजिमका अन्य कुरा पालना गर्नुपर्नेछ । संक्रमण विस्तार भइरहेको सन्दर्भमा नेपालमा पनि सम्भावित संक्रमण पहिचान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोजिटिभ देखिएका यात्रुमध्येको यात्राको विवरण भएको व्यक्तिको नमूना संकलन गरी जीन सिक्वेसिङका लागि आवश्यक व्यवस्था मिलाउने र जीन सिक्वेन्सिङद्वारा परीक्षण गर्ने मौजुदा क्षमता बढाउने छ ।
सरकारले संक्रमण जोखिम भएका मुलुकमा नेपालबाट यात्र गर्न योजना बनाएको व्यक्तिले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न यात्रा सुझाव जारी गर्ने निणर्य गरेको छ । कोभिड-१९ नयाँ भेरियन्ट संक्रमण भएका मुलुकमा सरकारको स्वीकृतिमा मात्र सरकारी कर्मचारी वा प्रतिनिधिमण्डललाई विदेश भ्रमणमा जान दिइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप सम्बन्धमा थप स्पष्ट नीति बनाउने छ ।
सरकारबाट सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड-१९ खोप उपलब्ध गराउने प्रतिबद्धता अनुरुप प्रतिदिन न्यूनतम दुई लाख जनालाई खोप अनिवार्यरूपमा दिलाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू