बुधबार, वैशाख १२, २०८१
09:14 | १३:५९

एनपीसीसी यूकेमा ४ सभापति, कार्यकाल चक्रीय 
प्रणालीमा एक-एक वर्ष

नेपाली लिङ्क नोभेम्बर २७, २०२१

लन्डन । नेपाली काँग्रेसको प्रवासस्थित भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेको अधिवेशनले सभापति प्रत्यासी चारजनालाई सभापतिमा निर्वाचित गरेको छ ।

उनीहरुको कार्यकाल चक्रीय प्रणालीमा एक एक वर्ष हुने निर्वाचन समितिले जनाएको छ ।

२७ नोभेम्बर शनिबार लन्डन साउथ ह्यारोमा भएको समितिको पांचौं अधिवेशनले उम्मेदवारहरुको सहमतिमा निवर्तमान सभापति युवराज गुरुङ पहिलो एक वर्ष, महेशकुमार दाहाल दोश्रो वर्ष, कोपिला वनेम लिम्बु तेश्रो वर्ष र युवराज सिंह चौंथो वर्ष सभापति हुने गरि निर्वाचित गरेको पूर्व महामन्त्री तथा निर्वाचन समितिका सदस्य केशव भण्डारीले जनाए ।

अधिवेशनले विधान संशोधन गरि एक कार्यकालका लागि मात्र यस्तो सहमति गरेको भण्डारीले बताए ।

विधान समितिका संयोजक शिवजी श्रेष्ठ एवं सदस्यहरु सुरज केसी र राष्ट्र राईले कार्यसमितिमा संख्या थप सम्बन्धमा प्रस्ताव लगेर विधान अनुमोदन गराएका थिए ।

अधिवेशनबाट रितेशराज पाण्डे वरिष्ठ उपसभापति चयन भएका छन् भने उपसभापतिमा ५ जना रिचर्ड गुरुङ, नवराज कार्की, प्रवेश केसी, राज सिटौला र सुवास राई चुनिए ।

यसअघि  सभापति पदमै उम्मेद्वारी घोषणा गरेका रिचर्ड गुरुङ सहमति निर्माणका लागि त्याग गर्न तयार भएपछि उनलाई उपसभापतिको जिम्मेवारी दिइएको हो । 

महामन्त्रीमा पनि ५ जना चुनिएका छन् जसमा रेशम बस्याल, कुश बस्नेत, रोमियन चेमजोङ, नोर्बु शेर्पा र इन्द्रहाङ लिङ्देन छन् । सह-महामन्त्रीमा रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, सन्जिव राई, उमिरा (उषा) राई, सन्तोषकुमार सुवेदी र रोहित राई चुनिएका छन् ।

त्यसैगरि, सदस्यहरुमा लिलाधर पौडेल, प्रमिला तिवारी भट्टराई, भिमराज राई, बाग्बीर पुन, जंग पुन, विज्ञान प्रसाईं, देवराज राई, किरण राई, बाबुराम भुषाल र पूर्णकुमार मादेन छानिएका समितिले जनाएको छ ।

निर्वाचनका लागि डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा खुशी लिम्बु सदस्य सचिव र राजेन्द्र खरेल एवं केशव भण्डारी सम्मिलित निर्वाचन समिति बनाइएको थियो । केन्द्रिय प्रतिनिधिमा समितिका पूर्व सभापति लोक गुरुङ थिए ।

पहिलो सभापति युवराज गुरुङ

बेलायतबाट छानिए १४ जना महाधिवेशन प्रतिनिधि

यसैगरि, अधिवेशनले आउंदो डिसेम्बर महिनामा काठमाडौँमा हुन गइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि पनि चयन गरेको छ ।

बेलायतबाट छानिएका १४ जना महाधिवेशन प्रतिनिधिमा विश्वआदर्श पण्डित, कोपिला वनेम लिम्बु, विज्ञान प्रसाईं, केशबहादुर गुरुङ, इन्द्रहाङ लिङ्देन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेख चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेम्वाङ र योगेन क्षेत्री छन् ।

विदेशबाट कांग्रेस महाधिवेशनमा जाने प्रतिनिधि भारतबाहेक बेलायतको सबैभन्दा ठूलो संख्या हो ।

समितिमा २ हजार ५ जना क्रियाशिल सदस्य छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू