शुक्रबार, वैशाख १४, २०८१
20:09 | ००:५४

एनपीसीसी यूके सभापतिका लागि महेश दाहाल पनि मैदानमा

नेपाली लिङ्क नोभेम्बर २४, २०२१

लन्डन । आउंदो साता लन्डनमा हुन गइरहेको नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) निर्वाचनमा वर्तमान उपसभापति महेशकुमार दाहालले पनि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

लोकतन्त्रलाई सुदृढ र मजबुत बनाउन, संगठनभित्र मौलाएको विकृति-विसंगति हटाउन, बेलायतस्थित 
राजनीतिक तथा सामाजिक संगठनसंग समन्वय गरि देशको हितमा काम गर्न, सदस्यता विस्तार, समाज रुपान्तरणका लागि रचनात्मक कार्यक्रम आदि एजेण्डासहित दाहाल चुनावी मैदानमा होमिएका हुन् ।

सन् २००० मा बेलायत आएपछि सन् २००४ देखि नेपाली जनसम्पर्क समिति बेलायतमा आवद्ध भए उनी । दाहाल सन् २००६ देखि हालसम्म समितिको उपसभापति छन् । उनले सन् २०१७ देखि ०२१ कार्यकालमा करिब ८ महिना कार्यवहाक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए । विधान कमिटी सदस्य, निर्वाचन समिति सदस्य र नेपाली कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि समेत भइसकेका उनी सन् २००५ मा राजा ज्ञानेन्द्रको ‘कू’ विरुद्ध खुलेर लागेका थिए ।

नेपालमा लोकतन्त्र स्थापनाका लागि बेलायती संसद वेष्टमिनिस्टर र लन्डनस्थित नेपाली दूतावास अगाडि एनपीसीसी यूकेले गरेको विरोध कार्यक्रममा पनि उनी सक्रिय सहभागी भए ।

दाहालको राजनीतिक यात्रा
वौद्धिक तथा सालिन व्यक्तित्व दाहालको राजनीतिक यात्रा विद्यार्थीकालदेखि नै शुरु भएको हो । वि.सं. २०४० देखि ०४५ सालसम्म नेविसंघ सदस्य रहेका उनी २०४३ देखि २०४६ सम्म नेपाल ल क्याम्पसमा नेविसंघ इकाइ सदस्य भए ।

वि.सं. ०४५ सालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल ल क्याम्पसबाट नेविसंघमार्फत विभिन्न विरोध कार्यक्रममा सहभागी भएका दाहाल पञ्चायत विरोधी कार्यमा संलग्न भएपछि भद्रगोल जेलमा थुना समेत परेका थिए ।

२०४७ सालको आमनिर्वाचनमा सिरहा क्षेत्र नम्बर १ लहान नगरपालिका र बिराटनगर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको प्रचार प्रसार समितिमा युवा संयोजक समेत भएर जिम्मेवारी सम्हालेका उनी २०४८ देखि ०५७ सम्म नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता भएर काम गरे ।

वर्तमान सभापति युवराज गुरुङ, उपसभापति कोपिला सुब्बा, रिचार्ड गुरुङ र युवराज सिंह पनि अहिलेसम्म सभापतिको दौडमा देखिएका छन् ।

नेपाली जनसम्पर्क समिति बेलायतको पाचौं अधिवेशन यही २७ नोभेम्बर शनिबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा हुंदैछ । अधिवेशन बिहान १० देखि सांझ ५ बजेसम्म चल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू