शनिबार, वैशाख ८, २०८१
13:40 | १८:२५

बेलायतमा संक्रमण बढ्दै, युरोपमा फेरि लकडाउन

नेपाली लिङ्क नोभेम्बर २३, २०२१

लन्डन । कोरोनासंक्रमणको तीनवटा लहर पार गरिसकेको बेलायतमा अहिले पनि संक्रमण दर उच्च छ । पछिल्लो एक महिनायता दैनिक संक्रमित संख्या लगातार ३० हजार भन्दा बढी छ भने केहि दिनयता दैनिक ४० हजार भन्दा बढी संक्रमित भइरहेका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांक अनुसार आइतबार ४० हजार भन्दा बढी संक्रमित भएका थिए । सोमबार ४४ हजार भन्दा बढी रहेकोमा मंगलबार थप ४२ हजार ४८४ नयाँ  संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कुल संक्रमितको संख्या झन्डै एक करोड पुग्न लागेको छ । मंगलबारसम्मको तथ्यांक अनुसार यहाँ ९९ लाख ३२ हजार ४०८ जना संक्रमित भइसकेका छन् ।

चिसोको प्रभाव बढ्दै गएपछि युरोपका कतिपय भागमा लकडाउन सुरु भइसकेको छ भने अन्य भागमा पनि लकडाउन हुने सम्भावना बढेको छ । विशेषगरि पश्चिमी युरोपमा संक्रमणको प्रभाव अत्यधिक बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठनले यसअघि नै युरोप कोरोना संक्रमणको केन्द्रविन्दु बन्ने चेतावनी दिइसकेको छ ।

अष्ट्रियाले २२ नोभेम्बरबाट राष्ट्रिय लकडाउनको घोषणा गरिसकेको छ । लकडाउन जारी गर्ने मुलुकमा अष्ट्रिया युरोपकै पहिलो मुलुक बनेको छ । कम्तिमा १० दिनको लागि जारी गरिएको लकडाउन २० दिनसम्म लम्बिन सक्ने अधिकारीहरुले बताएका छन् ।

उता बेल्जियममा दशौँ हजार मानिसहरुले लकडाउनविरुद्ध प्रदर्शन गरेका छन् । रसियामा पनि कोरोनाका मृतक संख्या अत्यधिक बढेको छ । जर्मनीमा कोरोना संक्रमण नियन्त्रण गर्न खोपलाई विशेष प्राथामिकता दिइएको छ । खोप नलगाएका नागरिकलाई सरकारले कडा नीति लागू गरिने चेतावनी दिएको छ । चेक रिपब्लिक, ग्रीस, फ्रान्स, स्वीडेन, स्लोभाकिया, इटाली, युक्रेनलगायतका मुलुकमा पनि नयाँ खालका प्रतिबन्धको तयारी भइरहेको छ ।

बेलायतमा एक लाख ४४ हजार भन्दा बढीको मृत्यु

कोरोना महामारी शुरु भएयता बेलायतमा एक लाख ४४ हजार भन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्यांकमा उल्लेख छ । बितेको २४ घन्टामा थप १६५ जना कोरोना संक्रमितको मृत्यु भएसंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक ४४ हजार १३७ पुगेको हो । संक्रमित संख्याको आधारमा मृतक संख्या भने निकै कम छ । यहाँ एकसातामा ९७८ जनाको ज्यान गएको छ जुन अघिल्लो साताको तुलनामा ५.५ प्रतिशतले कमी हो ।

बेलायतमा अहिले २७ प्रतिशत भन्दा बढीले कोरोनाविरुद्धको खोपको तेस्रो अर्थात बुष्टर डोज लगाइसकेको सरकारी तथ्यांकमा उल्लेख छ ।

मंगलबारसम्मको तथ्यांक अनुसार यहाँ एक करोड ५६ लाख  ३९ हजार ४७७ जनाले उक्त बुष्टर डोज लिइसकेका छन् । पछिल्लो २४ घन्टामा  तीन लाख भन्दा बढीले बुष्टर डोज लगाएका छन् । यसैगरी पाँच करोड ८ लाख ७३२ जना अर्थात ८८.३ प्रतिशतले खोपको पहिलो र ४ करोड ६१ लाख ८६ हजार ८१७ जना अर्थात ८०.३  प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू