सोमबार, जेठ ७, २०८१
00:06 | ०४:५१

सुडानका प्रधानमन्त्री रिहा, तर सेनाको निगरानीमा

रासस-एएफपी अक्टोबर २७, २०२१

सुडान । सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मङ्गलबार अबेर राती रिहा गरिएको छ । प्रधानमन्त्रीको कार्यालयले उनी रिहा भएको जानकारी गराएको हो ।  

अन्तर्राष्ट्रिय रुपमा आएको कडा दबाबपछि प्रधानमन्त्रीलाई रिहा गरिएको हो । यसअघि उनलाई सैन्य कूबाट हटाएर पक्राउ गरिएको थियो । 

रिहा गरिएपनि  सेनाले हम्डोकलाई ‘निकट निगरानीमा’ राखिएको बताइएको छ । अन्य मन्त्रीहरु र नागरिक नेताहरू गिरफ्तारमा नै रहेका उनको कार्यालयले थप जानकारी दिएको छ ।  

सैन्य कूपछि अमेरिका र इयूले सु्डानलाई दिइरहेको सहायता निलम्बन गर्ने चेतावनी दिएका थिए 

यसैबीच, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सुरक्षा परिषद्को आपतकालीन बैठक शुरु हुनुअघि नै हम्डोकलाई ‘तुरुन्त रिहा गर्न’ माग गरेका थिए । बैठकअघि, संयुक्त राष्ट्रसंघका लागि रुसका उपराजदूत दिमित्री पोल्यान्स्कीले काउन्सिलले सबै पक्षबाट हिंसा रोक्न अपील गर्नुपर्ने बताएका थिए । 

लामो समयदेखि निरंकुश शासक ओमार अल–बशिरको सन् २०१९ अप्रिल मा विशाल सडक विरोधका क्रममा सेनाले अपदस्थ गरेपछि सेना र नागरिकहरू बीचको नाजुक शक्ति बाँडफाँड व्यवस्थाको परिणाम नै यो ‘कू’ भएको बताइन्छ ।

गत सोमबार सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको थियो । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता नियन्त्रणमा लिएको विदेशी सञ्चार माध्यमहरुले जनाएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू