बिहीबार, वैशाख १३, २०८१
23:40 | ०४:२५

नर्दन आयरल्यान्ड र आयरल्यान्डका नेपालीबीच मैत्रीपूर्ण फुटबलको तयारी

नेपाली लिङ्क अक्टोबर १८, २०२१

‘नेपाली कम्युनिटी नर्दन आयरल्यान्ड’ को नवनिर्वाचित कार्यसमिति

बेलफास्ट । नर्दन आयरल्यान्ड र आयरल्यान्डमा बस्ने नेपालीहरुबीच यही महिनाको अन्तिम साता एक मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

‘नेपाली कम्युनिटी नर्दन आयरल्यान्ड’ ले अक्टोबर २५ सोमबार मैत्रीपूर्ण फुटबल आयोजना गर्ने भएको हो ।  

अब्जन आचार्यको नेतृत्वमा केही साताअघि निर्वाचित नयाँ कार्यसमितिको आइतबार सम्पन्न पहिलो बैठकले आयरल्यान्डका नेपालीसँग मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने निर्णय गरेको कोषाध्यक्ष तुलसीराम पौडेलले जानकारी दिए । 

स्थानीय डनमरी हलको मैदानमा फुटबल खेलाइनेछ । फुटबल खेलको एक सातापछि ३१ अक्टोबर आइतबारका दिन सोही ठाउँमा ‘देउसी-भैलो’ समेत खेल्ने कार्यक्रम तय भएको उनले बताए ।

बैठकले आफ्नो दुई वर्षे कार्यकालका लागि कार्ययोजनाहरुको तर्जुमा आगामी बैठकमा गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।  

यसअघि नर्दन आयरल्यान्डमा बस्ने नेपालीहरुको संस्था नेपाली कम्युनिटी नर्दन आयरल्यान्डको गत सेप्टेम्बर २६ मा सम्पन्न अधिवेशनबाट अब्जन आचार्यको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको थियो ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष जुना निउरे, सचिव तेज रेग्मी, सहसचिव प्रेम खत्री, कोषाध्यक्ष तुलसीराम पौडेल तथा सदस्यहरु पार्वती कंडेल, जमुना कंडेल, निर्जल क्षेत्री र विष्णुबहादुर क्षेत्री छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू