शनिबार, वैशाख ८, २०८१
09:03 | १३:४८

बेलायती सांसद हत्यामा संलग्न २५ वर्षीय युवालाई ‘आतंकवाद अपराध’ मा मुद्धा चलाइने

अभियुक्तका बाबु सोमालियाका पूर्व प्रधानमन्त्रीका सल्लाहकार

नेपाली लिङ्क अक्टोबर १७, २०२१


लन्डन । दुई दिनअघि बेलायतमा एक सांसदको छुरा प्रहारबाट भएको हत्यामा संलग्न रहेको ठानिएका युवाको परिचय सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार सांसद डेभिड अमेसको हत्यामा पक्राउ परेका अभियुक्त २५ वर्षीय अली हार्बी अली हुन् ।

सोमालियन पृष्ठभूमिका अली बेलायती नागरिक हुन् । उनका बाबु सोमालियाका पूर्व प्रधानमन्त्रीका सल्लाहकार समेत रहेको जनाइएको छ ।

सांसद हत्याका अभियुक्त अली केहि वर्षअघि नै काउन्टर टेरोरिस्ट प्रिभेन्ट स्किममा रिफर गरिएका थिए । आतंकवादी समूहहरुबाट प्रेरित हुन सक्ने जोखिममा ठानिएका व्यक्तिहरुलाई त्यसतर्फ दुरुत्साहित गर्ने लक्ष्यसहित रिफर गरिने उक्त कार्यक्रममा उनले छोटो समय मात्रै बिताएका थिए । तर उनलाई बेलायती प्रहरीले ठूलो चुनौतिको सूचीमा भने राखेको थिएन ।

शुक्रबार बिहान घटनालगत्तै पक्राउ परेका अलीलाई आतंकवादसंग सम्बन्धित अपराधमा मुद्धा चलाइने प्रहरीले बताएको छ । यसअघि नै प्रहरीले सांसद हत्याको घटनालाई आतंकवादसंग सम्बन्धित रहेको बताएको थियो ।

बेलायती संसदमा एसेक्स क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद अमेसलाई गत शुक्रबार आफ्नै क्षेत्रका मतदातासंग छलफलमा पुगेका बेला छुरा प्रहार गरी हत्या भएको थियो । दिनदहाडै एक सांसदको हत्या भएपछि बेलायतमा सांसदहरुको सुरक्षा निकै चुनौतिपूर्ण बनेको ठानिएको छ ।

सरकारकी गृहमन्त्री प्रीति पटेलले पनि सांसदहरुको सुरक्षाको विषय संवेदनशील बनेको स्वीकारेकी छन् । आवश्यक सुरक्षा प्रबन्धका लागि सरकारका तर्फबाट कुनै सम्झौता नहुने भन्दै उनले सांसद र आम समुदायबीचको सम्पर्क र भेटघाट भने निरन्तर रहन आवश्यक रहेको बताएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू