शुक्रबार, चैत १६, २०८०
20:41 | ०२:२६

मनोरञ्जनात्मक कार्यक्रमसहित पिटरबरो नेपाली समाज यूकेले मनायो दशैं

नेपाली लिङ्क अक्टोबर १३, २०२१


पिटरबरो । पिटरबरो नेपाली समाज यूकेको आयोजनामा गत सोमबार विजया दशमी तथा तिहार शुभकामना आदनप्रदान साँझ सम्पन्न भएको छ ।

नेपाली दूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यमा वेस्टउडको स्टाफोर्ड हलमा सम्पन्न कार्यक्रममा पिटरबरो र आसपासमा बस्ने करिब तीन सय नेपालीहरुको सहभागिता थियो । त्यसअवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्नका साथै विभिन्न सांस्कृतिक कार्यक्रमको प्रस्तुतिबाट मनोरञ्जन गरिएको थियो ।

समाजका अध्यक्ष हरिहर भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि लन्डन दूतावासका द्वितीय सचिव रामबाबु नेपालले उपस्थित सबैमा दूतावासको तर्फबाट शुभकामना दिए । त्यस्तै, कार्यक्रमका अतिथिहरू पिटरबरो सिटी काउन्सिलर गुल नवाज, कन्जरभेटिभभ पार्टीका वार्ड लिडर मोहमद रेन्जावले पनि नेपालीहरूलाई महान चाडको शुभकामना दिएका थिए ।

त्यस अवसरमा समाजका निवर्तमान अध्यक्ष एवं ट्रस्टी शिव भण्डारीले पिटरबरो नेपाली समाजले सिटी काउन्सिलबाट प्राप्त कम्युनिटी हल सोही दिनबाटै आफ्नो व्यवस्थापनमा सञ्चालन गर्ने अनुमति पाएको जानकारी गराए । हलको व्यवस्थापनको लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद व्यक्त गरे ।

समाजका पूर्व अध्यक्ष केशव भण्डारीले समाजका पूर्व पदाधिकारीहरूको तर्फबाट सबैलाई शुभकामना व्यक्त गरे । समाजलाई यहाँसम्म ल्याउने सबैको सम्झना गर्दै उनले पिटरबरो समाजमा जोडिएका सबै नयाँ सदस्यहरूलाई स्वागत गरे । कार्यक्रममा ट्रस्टीहरुको तर्फबाट ट्रस्टी संयोजक शीव पौडेलले शुभकामना व्यक्त गरेका थिए ।

पिटरबेरो नेपाली समाजका उपाध्यक्ष एवं एनआरएन यूकेका सदस्य भिम खनालले उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव कृष्ण लुर्इंटेलले गरेका थिए ।

औपचारिक कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष हरिहर भट्टराईले कार्यक्रमका अतिथि एवम् सहभागी सबैलाई धन्यवाद दिए । कार्यक्रममा पिटरबरो र आसपासका क्षेत्रबाट भएको उल्लेख्य सहभागिताले आफूलाई समाजको लागि काम गर्न थप हौसला मिलेको उनले बताए ।

पिटरबरोमा बसाइ सरेर आएका सम्पुर्ण नयाँ नेपाली परिवारलाई समाजको तर्फबाट अध्यक्ष भट्टराईले स्वागत गरे । दशैं तथा तिहारको समेत शुभकामना व्यक्त गर्दै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कार्यसमिति, ट्रस्टीहरू लगायत सबैलाई धन्यवाद व्यक्त गरे।

दोस्रो चरणमा प्रस्तुत सांस्कृतिक कार्यक्रमको संयोजन समाजकी उपाध्यक्ष संगिता कोइराला र सचिव जुना सापकोटाले गरेका थिए । कलाकारहरू शान्ति पाण्डे, ज्योति प्रधान, रहना थपलिया,पूर्णमान बज्राचार्य, साहसी भट्टराई ,सानवी पाण्डे, आर्या राजभण्डारी, क्रिसा रिजाल, युक्रेश रिजाल ,आर्यन भण्डारी, र अमोद ढकालले नेपाली भाषा र संस्कृति झल्किने नृत्य र गीत प्रस्तुत गकेका थिए । त्यसैगरि प्रणव रेग्मीले जादु देखाएर मनोरञ्जन गराएका थिए ।

साँझ ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित दशैं शुभकामना साँझको अन्त्यमा सहभागिहरू डिजे नाचमा रमाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू