मंगलबार, कार्तिक २, २०७८
06:52 | ११:३७

प्रवासी नेपाली एकता मञ्च यूकेको नेतृत्व परिवर्तन, अध्यक्षमा थपलिया

नेपाली लिङ्क अक्टोबर ११, २०२१

लन्डन । नेकपा एमालेनिकट प्रवासी नेपाली एकता मञ्च यूकेको नेतृत्व परिवर्तन भएको छ ।  

आइतबार अल्डरसटमा सम्पन्न मञ्चको विस्तारित बृहद बैठकले राष्ट्रिय कार्यकारिणी कमिटीमा नयाँ नेतृत्व चयन गरेको महासचिव सुरेशजंग शाहले जानकारी दिए ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सुरेन्द्र थपलियालाई अध्यक्ष चयन गरिएको छ भने उपाध्यक्षद्वय तुंगभद्र भुषाल र सरस्वति केसीलाई वरिष्ठ उपाध्यक्षमा बढुवा गरिएको छ । 

यसअघि अध्यक्ष भक्त गुरुङ प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष विनोद ज्ञवाली युरोप कमिटीका उपाध्यक्ष एवम् बेलायतसहित ६ देशको इन्चार्ज नियुक्त भएर माथिल्लो कमिटीको जिम्मेवारी सम्हालेपछि उनीहरुले बेलायतको कार्यसमितिबाट बिदा लिएका हुन् ।

त्यसैगरी, उपाध्यक्ष विजयविक्रम लिङ्देन, केन्द्रीय सदस्यहरू सरोज खनाल र कल्पना त्रिपाठी युरोपियन कमिटीको सदस्य बनेकाले ती रिक्त पदहरूमा पछि पूर्ति गरिने जानकारी बैठकमा गराइएको थियो ।

यसअघि विस्तारित बृहद बैठकमा प्रमुख अतिथि नेकपा एमालेका विदेश विभाग प्रमुख एवम् प्रवास इन्चार्ज डा राजन भट्टराईले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।  

त्यस्तै, विशेष अतिथि प्रवासी नेपाली एकता मञ्च अन्तराष्ट्रिय कमिटीका महासचिव रमेश पाण्डेले पनि भर्चुअल रुपमै अष्ट्रेलियाबाट शुभकामना दिएका थिए ।

त्यसअवसरमा विशेष अतिथिहरू अन्तराष्ट्रीय कमिटीका सदस्य कर्ण शाही , युरोप कमिटीका अध्यक्ष गोविन्द पौडेल, पूर्व अध्यक्षहरू दिनेश घिमिरे र रामशरण सिम्खडाले  मन्तव्य दिएका थिए । 

यसअघि अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थपलियाको स्वागत मन्तव्य दिएका थिए । संस्कृति तथा सम्पदा विभाग प्रमुख वरिष्ठ उपाध्यक्ष विनोद ज्ञवालीले दशैँको शुभकामना दिएका थिए ।

बैठकमा अध्यक्ष भक्त गुरुङले संगठनको नीतिगत प्रतिवेदन, महासचिव सुरेशजंग शाहले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुण्य रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा सबै प्रतिवेदन पारित गरिएको थियो । 

बैठकले रूपन्देहीको मोतिपुरमा सुकुम्वासीहरुमाथि चारजनाको ज्यान जाने गरी प्रहरीबाट चलाइएको गोली काण्डको भर्त्सना र सरकारको बर्बरतापूर्ण दमन नीतिप्रति खेद प्रकट  गर्दै पीडित परिवारप्रति सहानुभूति र न्यायको प्रस्ताव पारित गरेको छ ।

भौतिक र भर्चुअल दुवै रुपमा सहभागिताको व्यवस्था मिलाइएको बैठकमा केन्द्रीय कमिटी र बेलायतभरका ६ वटै क्षेत्रीय कमिटीहरूबाट सहभागिता जनाइएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू