आइतबार, जेठ ६, २०८१
18:18 | २३:०३

बेलायतमा फर्लो राहत बन्द हुँदै , बेरोजगारी बढ्ने चिन्ता

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२१

लन्डन । बेलायतमा कोभिड महामारीका कारण बन्द तथा प्रभावित कम्पनीका कामदारको तलब सरकारले नै व्यहोर्ने ‘फर्लो स्किम’ को सुविधा बिहीबार सकिंदैछ ।  

बेलायतमा सन् २०२० को मार्चमा पहिलो लकडाउन शुरु हुँदै गर्दा लागू गरिएको फर्लो स्किम पूर्ववत योजनाअनुसार नै यही सेप्टेम्बर अन्त्यदेखि सकिन लागेको हो ।

बेलायतमा कोरोना महामारी शुरु भएयता फर्लो स्किमबाट १ करोड १६ लाख बढी कामदार लाभान्वित भएको विश्वास गरिएको छ । सेप्टेम्बर अन्त्यसम्ममा पनि करिब दश लाख कामदार ‘फर्लो’ मै रहने आँकलन यसअघि अफिस फर नेश्नल स्टाटिस्टिक्स (ओएनएस) ले गरेको थियो ।  

बेलायतमा रोजगारीका अवसरहरु महामारीपूर्वकै अवस्थामा पुगेका बेला फर्लो स्किम अन्त्य हुँदैछ । तर अहिलेसम्म पनि लाखौं कामदार फर्लोमा रहंदै आएकाले यो स्किम बन्द भएलगत्तै बेरोजगारी बढ्ने अनुमान गरिएको छ ।  

बेलायत सरकारका अर्थमन्त्री ॠषि सुनाकका अनुसार सरकारले फर्लो स्किममा ७० विलियन पाउन्ड खर्च गरेको छ । फर्लो राहतले महामारीका बेला लाखौं कामदार र कम्पनीलाई राहत दिलाएको भन्दै मन्त्री सुनाकले खुशी व्यक्त गरेका छन् । अहिले यो सुविधा बन्द गर्ने उपयुक्त समय समेत आएको उनले बताए ।   

फर्लो स्किमअन्तर्गत बेलायत सरकारले शुरुमा महामारीका कारण बन्द वा प्रभावित कम्पनीका कामदारहरुको ८० प्रतिशत तलब (बढीमा मासिक २५ सय पाउन्ड) व्यहोर्दै आएको थियो भने पछि कम्पनीलाई २० प्रतिशत जिम्मा लगाएर ६० प्रतिशत सरकारबाट उपलब्ध गराइंदै आएको थियो ।  

बेलायतस्थित हजरौँ नेपाली कामदार र व्यवसायी समेतले फर्लो स्किमको लाभ उठाएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू