आइतबार, जेठ ६, २०८१
18:35 | २३:२०

यूकेमा इन्धन आतंक 

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२१

फोटो डेली मिरर

लन्डन । बेलायतमा पछिल्ला केहि दिनयता इन्धन आपूर्तिमा भएको संकटका कारण मानिसहरुमा आतंक मच्चिएको छ ।

इन्धन अभाव बढेका कारण मानिसहरुले सपिंग ब्याग, जेरिकेन, बाल्टिन जस्ता भांडामा समेत इन्धन भर्ने गरेका भिडियो तथा फोटो भाइरल बनेका छन् ।

लाइनमा बस्दा इन्धन सकिएर गाडी धकेल्दै गरेको दृश्यका साथै पेट्रोल स्टेशनमा नै हातपात गरेको दृश्य पनि अहिले सामान्य बनिसकेको छ ।

बेलायतका करिब आठ हजार पेट्रोल स्टेशनमध्ये करिब एक तिहाइमा मात्र इन्धन उपलब्ध हुंदै आएको अधिकारीहरुले बताएका छन् ।

आपूर्ति सहज बनाउन सरकारले १५० वटा सेनाका ट्यांकरहरुलाई तालिम दिएको बताए पनि घन्टौंसम्म गाडीमा लाम लाग्नुपर्ने अवस्था यथावत नै छ । पर्याप्त मात्रामा इन्धन मौज्दात रहे पनि इन्धन ढुवानी गर्ने चालक अभावका कारण संकट उत्पन्न भएको हो ।

वर्तमान परिस्थितिमा बेलायतमा ९० हजारदेखि एक लाखसम्म लरी ड्राइभरको आवश्यकता छ । उक्त परिस्थितिलाई मध्यनजर राख्दै सरकारले आगामी क्रिसमस बेला झन् आतंक फैलिने भन्दै विदेशी लरी ड्राइभरलाई तीन महिने अस्थायी भिसा दिने प्रक्रिया अघि बढाएको छ ।

तर, कतिपय युरोपेली ड्राइभरहरुले भिसा अवधि छोटो भएको भन्दै सरकारको उक्त आव्हान अस्वीकार गरेका छन् । अनावश्यक रुपमा पनि मानिसहरुले इन्धन मौज्दात राख्न थालेपछि इन्धन संकट झन् चुलिएको छ । पेट्रोल स्टेशनहरुमा २४ घण्टा नै गाडीहरु लामबद्ध देखिन्छ ।

बेलायतमा इन्धन भण्डारण सम्बन्धि कानूनी प्रावधान

बेलायतमा पेट्रोल स्टेशनबाट आफ्नो सवारी साधनबाहेक अन्य भाँडामा इन्धन भर्दा कानूनले निर्धारण गरेको मापदण्डको पालना गर्नुपर्नेछ । बढीमा कति मात्रामा इन्धन भण्डारण गर्न सकिन्छ, कस्तो सुरक्षा विधि अपनाउनुपर्छ र कस्तो भाँडामा कहां राख्नुपर्छ भन्ने विषयमा कानूनले स्पष्ट व्यवस्था गरेको छ ।

आफ्नो सवारी साधनबाहेक आफूसंग इन्धन भण्डारण गर्नका लागि यहाँको कानूनले निश्चित सीमा निर्धारण गरेको छ । भण्डारण गर्ने भाँडाको आधारमा कतिसम्म इन्धन राख्न सकिन्छ भन्ने निर्धारण गरिएको छ । प्लास्टिकको भाँडामा १० लिटर, धातुको भाँडामा २० लिटर र फ्यूल ट्यांकमा ३० लिटरसम्म इन्धन भण्डारण गर्न सकिनेछ ।

पेट्रोल प्रज्वलनशील भएकाले भाँडामा पेट्रोल र उच्च प्रज्वलनशील चिन्हसहित स्पष्ट खुलाएर लेख्नुपर्नेछ । दुईवटा उपयुक्त भाँडोमा बढीमा ३० लिटरसम्म पेट्रोल राख्न पाउने कानूनी प्रावधान छ ।

घरमा भण्डारण गर्दा घर भन्दा ६ मिटरको दुरीमा सेड वा ग्यारेजमा राख्नुपर्नेछ । तर, आफ्नो सवारी साधनको ट्यांक, बोट तथा जहाजमा भएको इन्धनलाई भने गणना गरिने छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू